फागुण २६, सल्यान ।
सल्यानमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जिल्लाका कृयाशिल विद्यार्थी संगठनहरुले सर्वसम्मतका लागि सहमति गरेका छन् । जिल्लामा सक्रिय रुपमा रहेका कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव नेकपा, राप्रपा निकटका विद्यार्थी संगठनले स्ववियुकाे लागि सर्वसम्मत गर्ने भन्दै सहमति गरेका छन् ।
माओवादी निकट अखिल क्रान्तिकारीकाे भागमा जनकल्यान क्याम्पस थारमारे, बनगाड क्याम्पस र फारुला बहुमुखी क्याम्पसकाे सभापति भाग गरेकाे छ । जनकल्यान क्याम्पसमा उपसभापति एमाले, सचिव विप्लव, सहसचिव, एकीकृत समाजवादी र काेषाध्यक्ष कांग्रेस निकट विद्यार्थी संगठनकाे भाग परेकाे छ ।
तर यहाँ कांग्रेस निकट विद्यार्थीहरुले सहमतिकाे विद्राेह गर्दै प्यानल नै घोषणा गरेर उम्मेदवारी दिने तयारी गरेका छन् । उनिहरुले जनकल्याण क्याम्पसको लागि कोषाध्यक्ष र ३ सदस्य दिने निर्णय गरेकोले यो निर्णय खारेजी गर्नु पर्ने माग राख्दै आएको छ ।
त्यस्तै सहमतिअनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघकाे लागि शिवजन क्याम्पस सितलपाटी र संखमुल क्याम्पसकाे सभापतिमा भाग परेकाे छ । शिवजनमा उपसभापति एमाले, सचिव समाजवादी, सहसचिव विप्लव, काेषाध्यक्ष माओवादी निकट विद्यार्थीकाे भाग परेकाे छ ।
सल्यान बहुमुखी क्याम्पस खलंगाकाे सभापतिमा एमाले निकट विद्यार्थी संगठनकाे भाग परेकाे छ भने उपसभापति कांग्रेस, सचिव विप्लव नेकपा, सहसचिव राप्रपा र काेषाध्यक्ष माओवादी निकट विद्यार्थी संगठनकाे भाग परेकाे छ ।
कपुरकोट बहुमुखी क्याम्पस भने एकीकृत समाजवादी निकट विद्यार्थी संगठनकाे भाग परेकाे छ ।
करिब एक हप्तादेखि छलफलमा रहेका विद्यार्थी संगठनहरुले एक्लाएक्लै जित्नसक्ने आधारहरु नभएकोले सर्वसम्मत सहमति गरेका हुन् । २ दिन पहिला नेविसंघलाई एक्लै बनाएर गरेको गठबन्धनमा नेविसंघले पनि सहभागिता जनाएको कार्यवहाक अध्यक्ष प्रेम नारायण विकले जानकारी दिए ।
नेविसंघका कावा अध्यक्ष प्रेम नारायण वि.क, अनेरास्ववियुका अध्यक्ष राजेश वली, एमाओवादी निकट अखिल (क्रान्तीकारी) का संयोजक रमेश बुढाथोकी, विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष दिपक खड्का, अनेरास्ववियु (एस) का उपाध्यक्ष कमल खड्का र राप्रवि संघका अध्यक्ष सुवोजित श्रेष्ठले सहमति भएकाे भन्दै संयुक्त हस्ताक्षर गरी संयुक्त विज्ञप्ती निकालेका छन् ।