दिपक भण्डारी
आजको यूग भनेको सूचना र प्रबिधि युग हो । हजाराैं वैज्ञानिकको देन, त्याग र खोजले गर्दा आज मानब समुदाय आधुनिकतामा रमाउन पाएको छ । साथै विश्वले प्रबिधिको अत्यधिक प्रयोग गरी छुटै संसारको कल्पना यो सुनौलो अवसर पाएको छ ।
हिजको त्यो कहाली लाग्दो ढुङ्गे युग बाटसुरु भएको मानब विकासकाे यात्राले एउटा उचाई प्राप्त गरेको छ । ढुङ्गे हतियार, आगो हुँदै निरन्तर अगाडी बढेका वैज्ञानिकहरुका सपना आज आएर विभिन्न ग्रहमा मानव जीवनको अध्यन, आर्टिफिसियल इन्टेलिजेन्सको विभिन्न क्षेत्रमा प्रयोग र विभिन्न नयाँ नयाँ प्रबिधिको विकास तिर लम्किरहेका छन् । सोच्दै नसोचेका र हाम्रो कल्पना भन्दा बाहिरका आविष्कारले विश्व जगतलाई र सिंगो मानव समुदायलाइ नै निरन्तर अनौठोपनको स्वाद चखाई रहेको छ।
प्रविधिको विकास संगै विश्व एउटा घर भएको छ, हामी प्रबिधि विनाको जीवन कल्पना पनि गर्न नसक्ने भएका छाैं । हामी जानी नजानी विस्तारै आधुनिकता संग नाता जोडीरहेका छाैं । साचिकै यी नयाँ नयाँ प्रबिधिको विकास नभएको भए मानव जीवन कस्तो हुन्थियो होला ? विदेशबाट चिठी आउन एक-दुइ महिना पर्खिनु पर्थ्यो । महिनौ लगाएर हाटबाट लामो समयको लागि नुन, समान किनेर घोडा, खचरबाट बोकेर लिनु बाहेक अरु कुनै उपाय थिएन ।
सायद अहिले आएर दुइ चार वर्ष अगाडिको कुरा सम्झदा पनि कथा जस्तो लगेर आउँछ । केहि वर्ष अगाडीसम्म मोबाइल फोन बिरलैको हातमा थियो । सामान्य खालको मोबाइल सेट किन्न पनि समस्या थियो । भएपनी फोन गर्नलाइ पहाड नै चढ्नु पर्ने अवस्था थियो । तर आज सबैको हात-हातमा स्मार्ट फोन छन् । सबैको पहुँचमा मोबाइल नेटवर्क पुगेको छ । इन्टरनेट पनि ४/५ जि टेक्नोलोजी मा पुगेको छ । जसले गर्दा सबैलाई सहजता मिलेको छ। सुचना सम्प्रेषण गर्न निकै सजिलो भएको छ । प्रबिधिले विश्वलाइ एउटा घर जस्तो त बनाएको छ अनि सहजतामा पनि निकै सहजता थापिदिएको छ।
हामी नेपालीहरु पनि विस्तारै प्रबिधिको दुनियाँमा रमाउ थालेका छौं । आज विभिन्न सामाजिक संजालहरुले विश्वलाइ एउटा घरमा परिणत गरिदिएका छन् । वर्षाैंदेखि छुट्टिएका साथीहरुलाइ एक ठाउँमा ल्याउने काम गरेका छन् । विभिन्न कारणले विश्वका विभिन्न कुनामा रहेका आफन्तलाई जोडिदिएका छन् । विचार साटासाट भएका छन । सम्बन्ध जोडिने र भावना साट्ने अवसर मिलेको छ । पैसाको अभावले उपचार गर्न नपाएका बिरामीको यिनै सामाजिक संजालमा गरिएका एउटा पोस्टले जिबन प्राप्त गरेका छन् ।
सामाजिक संजालले विभिन्न खाले सूचना दैनिक रुपमा हामीलाई प्रदान गरिरहेका हुन्छन । विभिन्न व्यवसायको प्रचारप्रसार गर्ने माध्यम पनि बनेको विभिन्न सस्थाले गरेका कामहरु सबै माझ पुर्याउन पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले पनि होला अहिले फेसबुकको लोकप्रियता निकै बढेको छ । विश्वलाइ जोड्ने एउटा दरिलो मध्यम बनेकाे छ फेसबुक पनि । सामाजिक संजाल आफूले पाएको चोट, उत्साह, निराशा, प्रेम आदि बोक्ने एउटा चौतारी बनेका छन् । जतिबेला हामी फेसबुक खोल्छौ यी र यस्तै कुराहरु हाम्रो संदेश बनेर आउँछन् । यति मात्रै कहाँ हो र साहित्यिक रचना बिसाउने पुस्तक नै बनेका छन् । पाठक समक्ष आफ्ना रचना पुर्याउन कुनै कठिनाई छैन् । कुनै संस्थाको वा अन्य कुनै चुनाबी माहोलमा भोट माग्ने मध्यम बनेको छ ।
अहिले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा नेपाल भन्दा बाहिर रहेका छन् । कुनै बेला समय थियो यता बाट चिठी लेखेर पठाउने र महिनौ सम्म त्यसको जवाफको पर्खाईमा महिनौं कुर्नु पर्ने । अझ आफन्तले कहाँ त्यो चिठी पुग्यो या पुगेन रु त्यो पनि थाहा हुदैन थियो। ग्राम बेलले टेलिफोनको आविस्कार गरेसंगै परदेशीको आवाज सुन्न सम्भब भयो। प्रविधिको विकास संगै आज आवाज मात्रै होइन तस्बीर पनि हेरेर कुरा गर्न सकिने भैसकेको छ ।
एक पछि अर्को अनि अर्को पछि अर्को गर्दै भैरहेका आविष्कारले सबैलाई विलासी बनिदिएको छ। हामी एक घरबाट अर्को घरमा सुचना प्रबाह गर्नु पर्यो भने पनि हामी फोन गर्छौ । कुनै समस्या पर्यो भने हामी क्षण भरमा नै सबैलाई जानकारी गराउन सक्छौं । तर बिडम्बना कुरा के छ भने प्रविधिले जति सहजता प्रदान गरेको छ त्यतिनै विकृति निम्त्याएको छ। जतिको सम्बन्ध जोडिदिने काम गरेको छ त्यो भन्दा धेरैको सम्बन्ध तोड्ने काम गरेको छ ।
विभिन्न सामाजिक संजालले विश्वलाई जोडेको छ तर धेरैको जीवन पनि तोडेको छ। जब कुनै कुराको प्रयोग त्यसको बारेमा कुनै जानकारी बिना नै अरुको देखेर गरिन्छ तब त्यसले राम्रो भन्दा पनि धेरै नराम्रो कुरा निम्त्याउछ । हामीले अहिले त्यहि देखासिकिमा लागेर प्रविधिको प्रयोग गरिरहेका छौं । संगै पढ्ने साथीले फेसबुक खोल्यो भनेर हमीनी खोल्छौ अरुले कसैको बारेमा नराम्रो लेख्यो भनेर अहि पनि त्यस्तैगरी नराम्रा कुराको पोस्ट गर्दै जान्छौ । जसले गर्दा हामी सजाएको भागेदार भैरहेका हुन्छौं ।
अहिलेत हामी सुरुवाती अबस्थामा छौ । अरुको सिकोले हामीमा यसको असर नदेखिएला तर भोलिका दिनमा यसले ठुलै असर निम्त्याउने छ। उसो त अहिले पनि निरन्तर यसको असर देखिएकै छ। सामाजिक संजालमा अहिले अरुको पासवर्ड चोर्ने, नक्कली एकाउन्ट खोलेर अरुको बेज्जत गर्ने, कसैको मान हानी हुने गरि गाली गलोज गर्ने, अझ अहिले चिट्ठा पर्यो भनि लाखौं ठगी गर्ने जस्ता समस्या व्यापक बन्दै गएका छन् ।
अझ यो प्रविधिको विकास संगै विभिन्न अपराधिक संगठनले पनि आफ्नो पेसालाई समय संगै परिवर्तन गर्दै लागेका छन्। हिजोका दिनमा चेलीबेटी बेच्ने काम विभिन्न खाले प्रलोभन देखाएर गर्ने गरिन्थ्यो तर आज यस्ता काम गर्नेलाई अझ सजिलो भएको छ । सामाजिक संजालमा साथी बन्ने अनि प्रेमको बाहाना गरेर मायाजालमा पार्ने र बेच्ने गरेको पनि पाइन्छ । अनि यसरी नै आफ्नो नक्कली फेसबुक एकाउन्ट बनाएर मायाको चक्रपथमा फसायर पासवर्ड माग्ने, भिडियो कल गर्ने अनि टाउको जोडेर अरुको अश्लिल भिडियो बनाउने अनि पैसाको बार्गेनिंङ्ग गर्ने जस्ता थुप्रै घटना घटिरहेका छन् ।
जब मानिसको दिमाग नै बाधियो भने उसले कसरी आफ्नो काम गर्न सक्छ। यिनै सामाजिक संजालका कारण कतिले आत्महत्या गरेका घटना पनि मिडिया आइरहेका छन् । हामी आधुनिकता तर्फ हिड्दै गर्दा यी समस्याको बारेमा पनि सोच्नु जरुरि छ । प्रविधिको भाषामा यस्ता आपराधिक क्रियाकलाप लाइ साइबर अपराध भनेर परिभाषित गरिएको छ ।
अबको मुलुकको एउटा चुनौती भनेको यस्ता अपराध नुनिकरण गर्नु हुनेछ । जति-जति विश्व प्रविधिको क्षेत्रमा अगाडी बढ्दै छ, त्यतिकै चुनौतिको पाटो पनि बढ्दै गएको देखिन्छ।विश्वमा प्रविधिको क्षेत्रमा निकै अगाडी पुगेका विश्व समुदायको हिजोको यात्रा हेर्ने हो भने पनि उनीहरुले भोगेको समस्या आज हामीले झेलिरहेका छौं ।
यसरी प्रबिधिको प्रयोग गर्दा हुदा अमेरिका जस्ता देश लडेका थिए । त्यसबाट सिकेर हामीले आफ्नो साइबर सेक्यूरिटी आजै बाट बलियो बनाउदै लैजानु पर्दछ । यसका निम्ति पनि प्रयास नभएका भने होइनन् । तर जुन रुपबाट सोचेर सरकारीतवर बाट कानुनहरु निर्माण गरियो त्यो भन्दा निकै ठुलो समस्या बनेर यस्ता समस्या आएकाले झन् धेरै चुनौती थापिएको हो ।
नेपालमा साइबर अपराधका लागि एउटा एन्टीभाइरसका रुपमा बिधुत कारोबार ऐन २०६३ बनेको छ। समयको परिबर्तन संगै यसको परिमार्जन हुन नसक्दा बिधुतिय कारोबार ऐनले पनि सशक्त रुपमा काम गर्न सकेको भने छैन् ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने प्रविधिको प्रयोगको बारेमा चेतनाको स्तर निकै कमजोर छ । नेपालमा प्रविधिको विकासका लागि सबै भन्दा पहिले प्रबिधिका प्रयोगकर्तामा चेतनाको स्तरमा वृद्धि गर्नु आवश्यक छ। जसले प्रयोग गर्ने हो उसलाई नै थाहा भएन भने जति राम्रो प्रबिधिको विकास गरेपनि त्यसकाे सहि प्रयोग हुन् सक्दैन् ।
पछिल्लो समयमा युवाहरु माझमा सामाजिक संजाल निकै लोकप्रिय भएका छन्। सामाजिक संजालको झन्डै आधा भन्दा बढी प्रयोगकर्ता १८/२४ बर्ष उमेर समूहका छन् । यसले के देखाऊ छ भने यूबा विधार्थी सामाजीक संजाल सँग नजिक छन्। प्रबिधिको विकासले यूबामा राम्रो र नराम्रो दुवै प्रभाब परिरहेको देखिन्छ । अझ विशेषत स् हाम्रो जस्तो विकासोन्मुख देशमा सामाजिक संजाल प्रयोग गरिरहदा निर्धारित नियम कानुन पनि मान्नु पर्छ भन्ने कुरानै आम रुपमा थाहा नभएको अवस्था छ । जसले गर्दा नबुझेर नै प्रचलित कानुन विपरितका क्रियाकलापमा बढी रहेका छन् ।
यसै कुरालाई मध्यनजर गर्दै प्रबिधिको विकासका लागि चेतनाको स्थर वृद्धि गर्न प्रबिधिको सहि प्रयोगमा आम युबालाइ प्रेरित गर्दै, प्रबिधिको दुरुपयोग न्युनीकरणमा सहयोग गर्न सम्पूर्ण तहका सरकारले चासो दिनु जरुरि देखिन्छ।
समाजले आधुनिकता तर्फ फड्को मारीरहेको छ । हामीले पनि आधुनिक नेपालको कल्पना गरिरहेका छौं । हामीले आधिनिकतामा जान मात्रै हतार गर्यौ भने भोलिका दिनमा निकै ठुलो चुनौती भोग्नुपर्नेछ । त्यसैले यस्ता खालका चेतनामुलक अभियानको सुरुवात हुनु जरुरी छ ।
आजको दिनमा प्रबिधि प्रयोगबाट जति पनि अपराध भएका छन । ति मध्ये धेरै अपराध नजानेरै भएका छन् । त्यसैले चेतनाको स्तर वृद्धि गरि सामाजिक संजाल र प्रविधिको प्रयोगबाट हुने अपराध न्यूनिकरण गर्न निकै ठुलो भूमिका निर्वाह गर्ने छ। यस्ता खालका अभियानलाइ थप प्रभावकारी बनाउन सरकारीस्तरबाट सहयोग गरि अझ प्रभावकारी बनाउदै आगाडी बढाएमा सुनमा सुगन्ध झैँ हुनेथियो ।