भाद्र ३१, सल्यान ।
सल्यानकाे त्रिवेणी गाउँपालिका २ धामी ढुंगामा ग्यास लिक भएर मृत्यु भएकाे भनिएका आमाछोरीको हत्या भएकाे आशंका गरिएकाे छ ।
शनिबार बिहान घरमा मृत फेला परेका ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव घरमै जलेको अवस्थामा फेला परेकाे थियाे । सुरुमा स्थानीय र प्रहरीले ग्यास लिक भएर आगलागीमा मृत्यु भएकाे अनुमान गरेपनि पछि घटनाकाे शंकास्पद रहस्य थपिदै गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार आमाछाेरी दुवैजनाकाे बेडमा आगाेले जलेर मृत्यु भएकाे देखिएकाे छ । तर आगाे कसरी सल्कियाे भन्ने देखिएकाे छैन् । काेठमा रहेकाे ग्यास लिक नभएकाे भेटिएकाे हाे ।
‘मृतक बस्ने एकतले टिनले छाएकाे घरमा एउटा मात्रै काेठा छ । काेठामा दुइवटा ढाेका छन् । एउटा ढाेकाकाे बाहिरबाट चुल्कुन लगाएकाे छ भने अर्काे ढाेकाकाे भित्रबाट चुल्कुन लगाएकाे छ’, डिएसपी कार्कीले लेकाली अनलाइनसँग भने ।
घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछी शव पोष्टमार्टमका लागी नेपालनञ्ज लगिएको छ । ती आमाछोरीको हत्या गरिएको हुनसक्ने आशंकामा घटनाको वास्तविकता पत्ता लगाउन सहज होस भन्ने उदेश्यले सुविधा सम्पन्न अस्पतालमा पोष्टमार्टमका लागी शव पठाइएको डिएसपी कार्कीले बताए ।
घटना पत्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर समेत ल्याएर प्रहरीले शनिबार अनुसन्धान गरेकाे थियाे। तर कुकुरबाट भने त्यस्ताे कुनै नतिजा आउन सकेन् ।
शनिवार बिहान अबेरसम्म आमाछाेरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा उनिहरुलाइ फेला पारेका थिए । त्यसपछि उनिहरुले प्रहरीलाइ खबर गरेका थिए । घटनाबारे थप साेधपुछका लागि प्रहरीले छिमेकी मृतककी जेठान दिदिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेकाे जनाएकाे छ ।
शव पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाबारे थप भन्न सकिने प्रहरीको भनाई छ । मृतकका श्रीमान राेजगारीकाे शिलसिलामा भारतमा रहेका छन् ।