• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

संविधान दिवसको अवसरमा सल्यानकाे कपुरकोटमा तीन वटा पुस्तक विमोचन


असाेज ३, सल्यान ।

संविधान दिवसकाे अवसरमा सल्यानकाे कपुरकोट गाउँपालिकामा विभिन्न तीनवटा पुस्तक विमोचन गरिएकाे छ । कपुरकोट दर्पण, आठ हजारी झ्याङा र हाकिमको देश पुस्तक बुधबार कपुरकाेट गाउँपालिकामा एक कार्यक्रमका बीच बिमाेचन गरिएकाे हाे ।

‘कपुरकाेट दर्पण’ पुस्तक कपुरकाेट गाउँपालिकाले प्रकाशन गरेकाे हाे । याे पुस्तकमा कपुरकोट गाउँपालिकाको भौलिक,ऐतिहासिक,साँस्कृतिक,राजनितिक,आर्थिक र सामाजिक जीवनसँग सम्बन्धित विविध पक्षको बिषयलाई समेटिएकाे छ ।

यस्तै ‘आठ हजारी झ्याङा’ कपुरकाेट गाउँपालिका ५ निवासी साहित्यकार तथा राजनीतिज्ञ भद्रसिंह बुढामगरले लेखेका हुन् । प्राप्त श्रोतको अभाव र कठिनाइका कारण भने जस्तो पुस्तक लेख्न नसकेता पनि कपुरकोटका सन्दर्भमा जान्न चाहाने संघसंस्था, शोधकर्ता र भावी पुस्ताका लागि पुस्तकले कपुरकोटको चिनारी दिन सक्ने बिश्वास लिएको लेखक बुढाले बताए ।

यसैगरी कपुरकोट गाउँपालिका वडा नं ३ स्थित वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख तथा साहित्यकार मित्र पाठकद्वारा लिखित “हाकिमको देश” नामक पुस्तकको पनि विमोचन गरिएको हो ।

संयुक्त रुपमा भएकाे तीनवटै पुस्तक विमाेचन कार्यक्रमकाे अध्यक्षता  कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ट आतिथ्यता रहेकाे थियाे । कार्यक्रमको संचालन भने गाउँपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले गरेका थिए ।

यसैबीच उक्त कार्यक्रमको अवसरमा “कपुरकोट साहित्य कला तथा संस्कृति संरक्षण समिति” समेत गठन गरिएको छ । उक्त समितिमा सर्वसम्मत रुपमा समितिको अध्यक्षमा गायक तथा कार्यक्रम उद्घोषक वडा नं ५ निवासी शान्तराम सेन्चुरी, उपाध्यक्षमा वडा नं. ४ की कलाकार चादनी बुढा, सचिवमा ओम प्रकाश बुढा, कोषाध्यक्षमा बल सिंह खड्का, सदस्यहरुमा क्रमश सिम्रन आर सि, राजु पुन, बरुणबाबु विश्वकर्मा, कृष्णी बुढा, पुजा वि.क. मनोनित गरिएको छ । साे कार्यक्रममा सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत राेकायकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय शिक्षा दिवस २०८० बाट सम्मानित व्यक्तित्व वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख मित्र पाठक र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरका प्रध्यापक दामोदर शर्मालाई सम्मान गरिएको थियाे

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार