• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

आफूलाई देउता चढेको भन्दै दाङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक महिलाकाे हत्या, २ जना घाइते


असाेज ६, दाङ ।

आफूलाई देउता चढेको भन्दै दाङमा एकजना पुरुषले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा एकजना महिलाकाे ज्यान गएकाे छ भने थप दुई जना घाइते भएका छन् । शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेक बहादुर हमालले अन्धाधुन्ध खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेका छन् ।

खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जनाएका छन् ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए । डिएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै कुनै रिसिबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेको हो ।

स्थानीयका अनुसार गाउँलेमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका थिए। उनी रोजगारीको शिलशिलामा भारत गएर फर्किएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।

खुकुरी प्रहारबाट घाइते भएका कमला कुमारीलाई तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ भने बीर बहादुर हमालकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ ।

घाइते वीरबहादुरले खुकुरी प्रहारबाट आफू भाग्यले जोगिएको बताएका छन् । ‘मलाई उसले हत्या गर्ने उद्देश्यसहित घाँटीमै प्रहार गर्न खोजेको थियो,’ वीरबहादुरले भने, ‘मैले हातले खुकुरी छेकेर ज्यान जोगाउन सफल भएँ।’

घाइतेहरुलाइ भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका थिए । घाइतेहरुलाइ मुख्यमन्त्री चौधरीले व्यक्तिगत रूपमा आफूले र प्रदेश सरकारमा समेत सल्लाह गरी उपचार खर्चमा सघाउने निर्णय गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार