• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

भूकम्पले सल्यानकाे दार्मामा सयाैं घर भत्किए, खुला आकाशमुनी रात काट्दै नागरिक


खकेन्द्र केसी

कार्तिक २०, सल्यान ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सल्यानमा मात्रै ५ सय २६ घरमा क्षती पुगेको छ ।

जाजरकाेट र रुकुमपश्चिम सँग सिमाना जाेडिएकाे सल्यानमा भूकम्पबाट ९५ वटा पुर्ण रुपमा भत्किएका छन् भने २५६ आंशिक र १७२ घरमा सामान्य क्षती पुगेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।

जिल्ला प्रशासनकाअनुसार सबै भन्दा बढी दार्मा गाउँपालिकामा ३९८ घरमा क्षती पुगेको छ । दार्मामा मात्रै ९३ वटा घर पर्ण रुपमा भत्किएका छन् भने २३६ आंशिक र ६८ घरमा सामान्य क्षती पुगेको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीकाअनुसार अहिले दार्मामा सयौं घरपरिवार घरबाहिर खुला आकाशमा रात काट्न बाध्य भएका छन् । आधारभूत आवास र खाद्यान्नको अभावमा पीडादायी अबस्था रहेकाे अध्यक्ष केसीले बताए ।

दार्मा गाउँपालिका ५ ढाकाडमका दिपक खड्काकाले गाउँमा रात कटाउन अहिले मुस्किल भैरहेकाे बताए । ‘घरहरु चर्किएर भित्र बस्ने अवस्था छैन् । गाउँलेहरु सबैले राती बाहिर चिसाेमा राती बिताइरहेका छन्’, खड्काले भने । दार्मामा पनि ठुलाे क्षति हुँदा पनि अहिलेसम्म कसैले ध्यान नदिएकाे उनले बताए ।

यसैक्रममा दार्माका भुकम्प प्रभावितको लागि नेपाल रेडक्रस सोशाइटी सल्यानले ६० थान कम्बल र ५० थान त्रिपाल गाउँपालिकालाई हस्तान्तरण गरेकाे छ ।

भूकम्पले सल्यानका अन्य पालिका बागचौर नगरपालिकामा २६, बनगाड कुपिन्डे नगरपालिकामा ५२,कपुरकोट गाउँपालिकामा २६,सिद्ध कुमाख गाउँपालिकामा २०, शारदा नगरपालिकामा ३, त्रिवेणी गाउँपालिकामा १ घरमा क्षती पुगेको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।

भूकम्पमा परी मामाघर रुकुम पश्चिम गएका सल्यानका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उनका ४ वर्षीय छोरा लेखनाथ मल्लको रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको छ । आमासँगै मामाघर रुकुम पश्चिम आठबीसकोट नगरपालिका पीपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो। आमा भद्रकला देवकोटा बुढा भने घाइते भएकी छन्।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार