कार्तिक २२, जाजरकाेट ।
जाजरकाेटका भूकम्प पीडितलाइ भूकम्पले दिएको पीडा भन्दा झन् ठुलाे पीडा अहिले जनप्रतिनिधि र सरकारी कर्मचारीको व्यवहारले दिएको छ ।
राहतको त्रिपाल र अन्य सामग्री घरमूलीको नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरमूली बाहेक अरुले नपाउने भनेपछि हैरानीमा परेको उनको भनाइ छ।
खुला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दा माग्दा नपाएपछि निराश भएको छ। त्यस्तै स्थानीय गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा वडासचिव उपेन्द्रजंग शाहले ‘म त्रिपाल दिन्नँ, जहाँ मरे मर’ भन्दै हप्काएर पठाएको बताए।
वडासचिवले हप्काएपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाउँदा एक थान त्रिपाल पाएको उनले सुनाए। वडा कार्यालयमा राहत वितरणमा व्यापक पक्षपात भएको उनी बताउँछन्।
घर पूर्णरूपमा भत्किएर समस्यामा परेको थाप्लेका झलक मल्लको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । ‘शुरुमा क्षति भएको नामावली संकलन गर्ने वेला हाम्रो पनि टिपेको थियो’, उनले भने, ‘अहिले लिष्टमा हाम्रो नाम छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा अचम्ममा परेँ’, झलकले भने।