मंसिर २, सल्यान ।
सल्यानमा केही क्लब तथा युवाहरूले देउसी भैलोबाट उठेको रकम सामाजिक कार्यमा प्रयोग गरेका छन् ।
जिल्लाको बागचौर नगरपालिका ९ कुयापानीको स्टार युवा क्लबले तिहारमा देउसी भैलो खेलेको एक दिनको ५० प्रतिशत रकम दार्माका भूकम्प पीडितलाई सहयोग गरेको हो ।
११ हजार १ सय ७६ रुपैयाँ भूकम्प पीडितका लागि दार्मा गाउँपालिकाको कोषमा सहयोग गरेको क्लबका अध्यक्ष डपेन्द्र डाँगीले बताए । कुल रकमको ८० प्रतिशत भूकम्प पीडितका लागि सामान र अरु रकम हस्तान्तरण गरेको क्लबका सल्लाहकार धनेन्द्र बिमल ओलीले बताए ।
त्यस्तै शारदा नगरपालिका १ का स्थानीय युवा समूहले देउसी भैलो खेलेर संकलन गरेको ३२ हजार ९० रुपैया क्यान्सर पिडित रुपा बुढाथोकीलाई हस्तान्तरण गरिएको समूहका सदस्य तथा स्थानीय युवा सन्देश राईले बताए ।
त्यसैगरी शारदा नगरपालिका १ मा रहेको पटनेरी सामुदायिक साँस्कृतिक भैली समूहले २ जना क्यान्सर पिडित र एक जना मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पटनेरी निवासी क्यान्सर पिडित रुपा बुढाथोकीलाई २५ हजार, क्यान्सर पिडित रिठ्ठा बहादुर खत्रीलाई १५ हजार र मृगौला पिडित नबराज बोहरालाई ५ हजार रुपैया हस्तान्तरण गरिएको समूहका सदस्य एवं स्थानीय युवा न्युटन श्रेष्ठले बताए ।