
भदाै ५, सल्यान ।
सल्यानकाे बागचाैर नगरपालिका ७ टाट्केमा रहेकाे वालकन्या माध्यामिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन अवरुद्ध भएकाे भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।
कक्षा १ देखि ५ सम्म अंग्रेजी विषय र कक्षा ४ देखि १० सम्म गणित विषयकाे शिक्षक नहुँदा पठनपाठन अवरुद्ध भएकाे भन्दै साेमबार विद्यार्थीहरुले विद्यालय तालाबन्दी गरेका हुन् । एकैपटक ३ जना शिक्षकहरुले विद्यालय छाेडेपछि विद्यार्थीकाे विषयगत पठनपाठन अवरुद्ध बनेकाे हाे ।
कक्षा ८ देखि १० सम्म गणित विषय पढाउने निमावीका स्थायी शिक्षक माेहन भण्डारी अनेन्त्र सरुवा भएर गएकाेले याे तहमा गणित विषयकाे पठनपाठन ठप्प भएकाे । त्यस्तै नगरकाे अनुदानमा कक्षा ४ देखि ७ सम्म गणित पढाउने अर्का शिक्षक भिमसेन वलीलाइ नगरपालिकाले हटाएपछि याे तहकाे पनि गणित विषय ठप्प भएकाे हाे । प्रावि तहमा अंग्रेजी पढाउने शिक्षिका दिपा केसीलाइ पनि बागचाैर नगरपालिकाले नगरकाे अनुदानबाट हटाएपछि प्राविमा अंग्रेजी पनि अवरुद्ध बनेकाे विद्यालयका प्रधानध्यापक चक्रपनी गाैतमले बताए ।
सरुवा भएर गएका माेहन भण्डारीकाे ठाउँमा अर्का शिक्षक आउने तयारी गरेकाले केहि समयपछि उक्त समस्या समाधान हुने प्रअ गाैतमले बताए । त्यस्तै नगरपालिकाले हटाएका अनुदानका शिक्षक सवालमा नगरपालिकाबाटै समाधान हुनपर्ने उनकाे भनाइ छ ।
बागचाैर नगरपालिकाले पहिलाका अनुदान शिक्षकहरुलाइ हटाएर नयाँकाे परिक्षा बनाएपनि विद्यालयमा पठाउनेबारे अन्याैल हुँदा अन्य विद्यालयहरुमा पनि पठनपाठन अवरुद्ध भएकाे छ ।