मेरो हातमा शिक्षा नीति दिइयाेभने नेपालको पुरै शिक्षा प्रणाली परिवर्तन गर्छु : अर्पण शर्मा

फागुन २२, सल्यान । संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग अर्पण शर्माले सरकारले आफ्नो हातमा शिक्षा नीति दिएमा देशको पुरै शिक्षा प्रणाली परिवर्तन गर्ने बताएका छन् ।

विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन सल्यानको थारमारेमा आएका शर्माले बुधबार पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै अहिले नेपालको शिक्षा निती र प्रणाली राम्रो नभएको बताएका छन् । उनले अहिले विद्यार्थीहरुलाई जबरवस्त पढाइएको बताएका हुन् ।

उनले भने– “यहाँ विद्यार्थीहरुलाई पढाउने मात्रै गरिन्छ तर ध्यान गराइदैन्, त्यसरी विद्यार्थीको दिमागनै थाक्नेगरी पढाउन हुँदैन् ।” उनले सरकार व्यस्त भएको कारण यी कुराहरु नसुनेको हुनसक्ने बताए ।

उनले आफुले निजी क्षेत्रबाटै शिक्षाको चेतना परिवर्तन गर्न लाग्ने बताए । आफु सरकारी पहुँचमा नभएपनि निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा सहयोग गर्ने उनले बताएका छन् ।

उनले अहिले नेपालमा मोडन शिक्षा आएको बताएका छन् । उनले विद्यार्थीलाई घोक्न लगाउने खालको शिक्षा नेपालमा भएको बताए । त्यो शिक्षाले एकछिनमा घोक्ने र अर्कोपटक बिर्सने उनको भनाई छ ।

शिक्षाको नाममा नेपालमा विद्यार्थीलाई टचर दिइएको उनले बताएका छन् । उनले भने– “परिक्षाको अघिल्लो दिनसम्म विद्यार्थीलाई खाना, सुत्नको समय नदिएर पढ्न लगाइन्छ । तर परिक्षा सकिएको भोलीपल्टै बिर्सने वातावरण हुन्छ ।” उनले विद्यार्थीलाई ध्यान दिने शिक्षा हुनुपर्ने बताएका छन् ।

उनले सबैलाई सम्मान गर्नेखालको शिक्षाको चेतना विकास गर्नुपर्ने बताए । उनले भने– “किसानलाई यहाँ अपहेलीत र तल्लो दर्जाको रुपमा हेरिन्छ, तर सुट पाइन्ट लगाउनेहरुलाई ठुलो मान्छे सोच्ने शिक्षा छ ।” त्यसको अन्त्य गर्न बच्चादेखि नै सबैलाई एकै रुपले हेर्न शिक्षाको विकास गर्नुपर्ने उनले बताए ।

थारमारेमा रहेको बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा.लिले आयोजना गरेको ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रममा उनि सल्यान आएका थिए । फागु २० गते आएका उनले ३ दिनसम्म करिब ४ सय भन्दा धेरै शिक्षक, विद्यार्थी, बुद्धिजिवीहरु लगाएतलाई प्रशिक्षण दिएका थिए ।