“गृहमन्त्री ज्यू ! युद्धकालबाट आएर यति धेरै सत्ताको मात कसरी चढ्यो” : रबि लामिछाने

  • रबि लामिछाने 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको छ । यो एक वर्ष राष्ट्रिय लज्जाको एक वर्ष पनि हो । सम्भवतः टेलिभिजन कार्यक्रमहरुमध्ये यस विषयमा सबैभन्दा बढी रिपोर्टिङ गर्ने कार्यक्रम र त्यसको सञ्चालकका हैसियतले यस विषयमा टुंगो लाग्ने गरी खोजमुलक सामग्री प्रस्तुत गर्न र अपराधी पत्ता लगाउन प्रभावकारी भूमिका निभाउन नसकेकोमा म निर्मला पन्तको परिवारजन तथा आम दर्शकहरुसँग क्षमा याचना गर्दछु ।

प्रहरी प्रशासनलाई दोष थुपारेर मात्र सञ्चारमाध्यम भाग्न सक्दैनन । हुन सक्छ, अनुसन्धानलाई प्रभावित पार्न, हाम्रा रिर्पोटहरुले सघाए कि ? कान नछामी कागको पछि कहीँकतै दौडिएर भ्रम सिर्जना गर्नमा हाम्रा रिर्पोटहरु सहयोगी भए कि ? यदि हाम्रा मात्र होइन कसैका पनि रिर्पोटिङले निर्मलालाई न्याय दिने प्रक्रियामा बाधा सृजना गरेको भए माफी मात्र मागेर पुग्दैन, सजायको भागीदार समेत हुनु पर्दछ । छानविनको शुरुवात हामीबाट होस् ।

त्यसपछि यो देशका गृहमन्त्रीले हत्यारा पत्ता लागिसक्यो चाँडै सार्वजनिक हुन्छ भनेका छन् । १ वर्ष पनि चाँडै होइन भने गृहमन्त्री ज्यु, तपाईंको परिभाषामा चाँडै भनेको के हो ? स्पष्ट पारिदिनुहोला र हिजो मात्र पनि तपाईले आफ्नो अभिव्यक्ति मार्फत अर्को आश्चर्यजनक कुरा भन्नुभयो । निर्मला पन्तको जस्तो बलात्कारको घटना हिजो पनि हुन्थ्यो, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ ।

यस किसिमका अपराध पुर्णतया निषेध गर्न सकिँदैन । गृह मन्त्री ज्यु, के अब जनताले आफ्ना छोरीचेलीको सुरक्षा आँफैले गर्नुपर्ने हो ? युद्धकालमा यस्ता गतिविधि, कृयाकलाप गर्नेलाई यस्तै भन्नुहुन्थ्यो तपाई ? सत्ताको मात यति धेरै यति जाँडै चढ्न कसरी सक्यो । यो चाहिँ पत्ता लगाउन जरुरी देखियो ।

हचुवाको भरमा अपराधी पत्ता लाग्यो भन्नु र यस्तो घटना भैरहन्छ भन्नु गलत हो । कमसेकम यति चाहिँ स्वीकार गरिदिनुहोला कुनै मञ्चबाट । तात्पर्य त्यो होइन तर बोल्दा मिलाउन नसकिएको मात्र हो भने कुरा सकियो । देशका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त पत्ता लागि नै सक्यो सार्वजनिक गर्छाैँ, बरु मेरो दलको भनेर छाता ओढाउन नआउनुहोला भनेर भन्नुभयो । माननीय मन्त्री ज्युलाई आँफुले बोलेको कुराको स्मरण छ कि पार्टीको स्कुल विभागकै रनाहामा हुनुहुन्छ, कसैले सोधिदिनुहोला ।

एउटा कुरा स्पष्ट पाराँै कि– नेपालमा भएका आजसम्मका बलात्कारका घटनामा समातिएका दोषीहरुमध्ये एकजनालाई पनि डिएनए मिलेको आधारमा समातिएको होइन । त्यसकारण डिएनए नमिले पनि अन्य मानवीय अनुसन्धानको आधारमा दोषीलाई केरकार गर्न मिल्छ । डिएनए मिल्नका लागि हाम्रो ल्याब १०० प्रतिशत विश्वसनीय छ त ? विज्ञहरु भन्छन्- छैन ।

निर्मलाको डिएनए स्याम्पल अब संक्रमित भैसकेकाले यो दुनियाँको कुनै ठाँउको विज्ञले पनि डिएनए मिलाएर अपारधी समाउन सक्दैन । अनुसन्धान गर्न पछि गठित आयोगहरुले निर्मलाको हत्यारा पत्ता लगाउने भन्दा केके गल्ती भए भन्ने पत्ता लगाएर रिपोर्ट तयार पारे । नेपाल प्रहरीले स्पष्टसँग भन्नु पर्छ– कि डिएनए परिक्षण गलत छ कित ल्याव गलत छ, कि स्याम्पल नै संक्रमित, कन्ट्यामिनेटड छ ।

ललितपुरको गोदामचौर बलात्कार काण्डमा आरोपीतको डिएनए मिलेन तर पनि जिल्ला अदालतले अन्य प्रमाणका आधारमा सजाय सुनायो । कि त ल्याब कि त डिएनए स्याम्पल ठिक छैन भनेर भन्न प्रहरीले नसक्दा यो केश कहिल्यै नसुल्झिने रहस्य बन्दै छ ।

मानव अधिकार संगठनका अध्यक्षको स्थलगत प्रतिवेदनमा बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरको रुपमा काम गर्छिन् भनेर समेत उल्लेख थियो । घटनालाई तोडमोड गर्न सघाउने सबैलाई एकै ठाँउमा उभ्याउन सक्ने क्षमता सरकारले राख्दैन किनकि निर्मलालाई न्याय दिन भन्दा जरुरी सम्भावित आन्दोलन रोक्नु छ, हामीजस्ता संचारकर्मीबाट जोगिनु छ ।

यति धेरै कोणबाट प्रभावित प्रहरी प्रसासनले तत्थ्य बाहिर ल्याउने हिम्मत के राख्थ्यो । मानवअधिकारवादी, राजनीतिज्ञ, पत्रकार, स्थानीय बुद्धीजिवी, सबलाई खुशी पार्न खोज्दा र सबलाई न्याय भाग लगाउँदा निर्मला र उनको परिवारको भागमा न्याय नै परेन । मरिसकेकी निर्मलालाई न्याय दिनुभन्दा बाँकी सबैको मन राखिदिन जरुरी देखियो सायद ।

फेरि पनि भन्छु यो केशलाई अल्मल्याउन हाम्रा रिर्पोटहरुले पनि प्रभाव पारे भने हामीलाई माफ मात्रै होइन सजाय नै दिनुपर्छ र शुरुवात हामीबाटै होस् । गतवर्ष स्टुडियोमा टाँसिएको यो पोष्टर सुरक्षित राखिएको थियो । मनमा शंका थियो कि निर्मलाले सजिलै न्याय पाउन के सक्थिन् ।

आजको कार्यक्रममा यो केशको केही गहन विषय उठाउने प्रयास गर्ने छाँै । आजको कार्यक्रममा फेरी यो पोष्टर टाँस्न बाध्य भएको छु तर प्रधानमन्त्रीले हत्यारा बलात्कारी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्छ भन्नुभएकाले सोच्दैछु– यो पोष्टर १२ वर्षसम्म सुरक्षित राख्नुपर्ला कि ? तपाई सोच्दै गर्नुहोस् म टाँस्नतिर लाग्छु ।

प्रकाशित मिती २०७६ साउन १३ गते