‘नेपाल लोक स्टार’बाट किन बाहिरिए उद्घोषक अशोक र सुवेक्षा ?

असाेज ४, काठमाडौं । मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’बाट सुरुका दुई उद्घोषक बाहिरिएका छन् । ३६ औं श्रृखंला प्रशारण हुने ‘नेपाल लोक स्टार’को मध्यतिरबाट उद्घोषक अशोक धिताल र २२ औं श्रृंखलाबाट उद्घोषिका सुवेक्षा खड्का बाहिरिएकी हुन् ।

उद्घोषकबाट सोचेजस्तो परिणाम नआएपछि उनिहरू हटेकाे स्रोतले बतायाे । अशोक बाहिरिएपछि सुवेक्षाले को–होस्टका रुपमा विभिन्न कलाकारलाई बोलाएर कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् ।

सुवेक्षा र अशोक दुबै बाहिरिएपछि अहिले उनीहरुको ठाउँ लिएका छन् सुगारिका केसी र नरेश भट्टराईले । २६औं श्रृंखला प्रशारण हुँदा ‘नेपाल लोक स्टार’मा सात जना प्रतिस्पर्धी बाँकी छन् । प्रतियोगितामा रामकुमार नेपाली, रवीराज शाह, चेतन गोतामे, शनी विश्वकर्मा, विनोद दनुवार, पविन्द्र सुनार र दीपेन्द्र राई बाँकी छन् ।

टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको छ । ३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमका विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

याे पनि पढ्नुहाेस्

यी हुन् अबका उत्कृष्ट ७ प्रतिस्पर्धी

१. शनी विश्वकर्मा

गोल्डेन स्टार प्राप्त तीन प्रतिस्पर्धीहरुमध्ये रोल्पा जम्कोटका १८ वर्षीय शनी विश्वकर्मा नेपाल लोक स्टारका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्यका एक हुन् । अडिसन राउण्डमा चार जना निर्णायक सबैले ५/५ वटा स्टार दिएमा गोल्डेन हुने गर्दृछ र सिधै उत्कृष्ट २० मा पुग्ने नियम छ । सोही नियमका आधारमा उनी सयौं प्रतिस्पर्धीहरुबाट सिधै उत्कृष्ट २० मा पुग्न सफल भएका हुन् ।

सानैदिख गीतसंगीतमा रुचि राख्ने उनले अडिसन राउण्डमा तिरिरी मुरली बज्यो बनैमा गीत गाएर नेपाली लोक स्टारमा पहिलो गोल्डेन स्टार प्राप्त गरेका थिए । यसका अलावा उनले कलकते काइयो, सालको पात टपरी, पिँढीमा बसेर, राम्दी पुल, पानीको फोकाजस्तै, सुनपानी लगायतका गीत गाएर उत्कृष्ट ७ सम्मको यात्रा तय गरेका हुन् ।

हाल दाङ बस्दै आएका रोल्पाका शनी नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका हुन् । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि उनलाई गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग छ । उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । तर त्यो बजारमा भने आइसकेको छैन ।

२. चेतन गोतामे

स्याङ्गजाका ३० वर्षीय चेतन गोतामे नेपाल लोक स्टारका उतकृष्ट ७ प्रतियोगी मध्येका एक हुन् । वर्षायाम लाग्यो, शीरै लाउने शीरफूल, बाल जोवन, सोह्र वर्षे उमेरैमा, नाचीदेउ मैच्याङ्ग, लुकीलुकी सेती बग्यो, भन्थ्यौ आमा नेपालमा, हर साल आई मागी, आमा रुँदै लगायत गीत गाएर उत्कृष्ट ७ मा आइपुगेका चेतनलाई गीतसंगीतले बचपन देखी नै मोहनी लगाएको हो ।

घरमा कोही आयो भने मादल निकालेर बजाउँदै त्यसमा गीत गाएर सुनाउने उनको बानी थियो । परिवारमा सांगीतिक क्षेत्रमा कोही नभए पनि उनले भने संगीतलाई नै आफ्नो कर्म क्षेत्र बनाएका छन् ।

उदीतनारायण झा, विष्णु माझी, पुरुषोत्तम न्योपानेको स्वर सुनेर उनी आजसम्म अघाएका छैनन् । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले ०७४ मा आयोजना गरेको एकल दोहोरी प्रतियोगितामा सान्तवना पुरस्कार हात पारेका चेतनले ६६ सालदेखि गीत गाउँदै आएका छन् । उनले ५ दर्जन गीत गाइसकेका छन् ।

३. रामकुमार नेपाली

रामेछापका २७ वर्षीय रामकुमार नेपाली नेपाल लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । हिउँ खोलीको चिसो पानी, नाचिदेउ मैच्याङ्ग सोह्र वर्षे उमेरैमा, आकाशैको कालो बादल जस्ता गीत गाएर दर्शक तथा स्रोताको मन जित्दै आएका उनले उत्कृष्ट ७ सम्मको यात्रा तय गरिसकेका छन् ।

वाल्यकाल देखि नै बुवासँगै गीत गाउँदै हिँड्ने रामकुमारले गाउँमा हुने विवाहमा सयौं गीत गाउँदै हिँडेका छन् । ०६३ बाट गीत रेकर्ड गराउन थालेका उनको लय तथा शब्दमा स्वर्गमा चुले निम्तो छ रेकर्डक भइसकेको छ ।

काठमाडौंका कयौं दोहोरी साँझमा काम गरिसकेका रामकुमार अहिले फूलबारी दोहोरी साँझमा गाएर जिविकोपार्जन गरिरहेका छन् । स्कुलमा ८० रुपैयाँ तिर्न नसकेर काठमाडौं छिरेका उनले पछि डाक्टर पढ्ने छात्रबृत्ति पाउँदा पनि त्यसलाई लत्याएर सांगीतिक क्षेत्रमै लागे । सुरुमा गीतसंगीतमा नलाग् भन्ने उनका बुवा अहिले छोरोले सांगीतिक आकाशमा सफलता चुमेको हेर्ने सपना पालेर बसेका छन् ।

४. पविन्द्र सुनार

बाजुरा स्थायी घर भएका १८ वर्षीय पविन्द्र सुनार नेपाल लोक स्टारमा अडिसन राउन्डमा गोल्डेन स्टार पाएर सिधै उत्कृष्ट २० मा आइपुगेका प्रतिस्पर्धी हुन् । राज सिक्देल, शिव परियार, रामजी खाँडको स्वर मन पराउने उनी बच्चैदेखि गीतसंगीतका पारखी हुन् । नेपाल लोक स्टारमा कलकत्ते काइँयो, चुरी छमछम, रेशम फिरिरी, कलिलो तामाले, लुट्न सके लुट कान्छा, खानी खोला गीत गाएर उनले उत्कृष्ट ७ सम्मको यात्रा तय गरिसकेका छन् ।

स्कुलमा छँदा शिक्षकहरुले पविन्द्रको स्वर मन पराएर गाउन लाउँथे । साथीहरु हौस्याउँथे । उनको स्वरको चर्चा स्थानीयस्तरमा राम्रै हुन थालेको थियो । धनगढी आएपछि खप्तड सांस्कृतिक परिवारमा आबद्ध भए । गाउन थाले । स्थानीय शोमा उनलाई बोलाउन थालियो । टिकापुर महोत्सवमा गाउने अवर पाएपछि उनको प्रतिभाले अझै फैलिने अवसर पायो ।

सुदुरपश्चिमका मेला महोत्सवमा उनलाई डाक्न थालियो । परिणाम उनले सुनचाँदीको पेशा छोडेर गीत गाउँदै हिँड्न थाले । अहिलेसम्म उनको स्वरमा एउटा गीत पनि रेकर्ड भइसकेको छ । तर बजारमा भने आएको छैन ।  गीतसंगीत बाहेक आफूले अहिले अरु केही पनि देख्न छोडेको बताउने पविन्द्र आफ्नो भविश्य संगीतमा खोजिरहेका छन् ।

५. रविराज शाह

भारतमा बसेर गीतसंगीतमा क्रियाशील २७ वर्षीय रविराज नेपालमा पनि चिनिन सकुँ भनेर नेपाल लोक स्टारमा सहभागी हुन आए । ०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले नेपाल लोक स्टारमा भोजपुरी गीतसँगै नेपाली लोक गीत गाउँदै उत्कृष्ट ७ सम्मको यात्रा तय गरेका हुन् ।

टुङ्गनाको धुनमा, गलबन्दी, बल्लबल्ल भेट भयो, अवध नगरी लगायतका गगी गाएका उनलाई तराईको मैथिली र भोजपुरी गीत पनि नेपालकै गीत हो र पहाड र हिमालको गीत पनि तराईको गीत हो भन्ने सन्देश दिनु छ ।

सानै देखि गीतसंगीत भनेपछि हुरुक्कै हुने रविराजले सर्लाहीका स्थानीय ब्यान्डमा बसेर थुप्रै गीत गाएका छन् । ०६२ सालतिर अर्केष्टामा गीत गाएर १५० देखि हजार रुपैयाँसम्म लिएर उनलाई याद छ । श्रुतीसंगीत महाविद्यालयमा संगीतको साधना गरेका रविराजले चलचित्र प्रेमलिलाको गीतमा संगीत गरिसहेका छन् । टि सिरिजका लागि गाइसकेका छन् ।

एक दर्जन गीत कम्पोज गरिसकेका उनका गीत वारिस खान, राजा हसनले गाइसकेका छन् भने अञ्जु पन्तको स्वरमा पनि गीत रेकर्ड भइसकेको छ । संगीत साधनाको विकल्प आफूले सोच्न पनि नसक्ने उनी बताउँछन् ।

६. विनोद दनुवार

उदयपुरका २६ वर्षीय विनोद दनुवारले गोठालो तथा मेलापात जाँदा गीत गाउन सिके । त्यहीँबाट उनलाई गीतसंगीतको नसा लाग्यो । चार वर्ष मलेसिया बस्दा पनि उनलाई गीतको नसाले छोडेन । जता गीत बज्यो उतै कुद्ने उनी कतै गीत गाउन पाइन्छ की भन्ने आशैआशमा बस्थे ।

नेपाल फर्किएर गीतसंगीतमै अवसर खोजीरहेका बेला नेपाल लोक स्टार सुरु भयो । त्यहीँ उनले भाग लिए । भैटैमा भयो सोल्टी ज्यू, कर्मै हारा, बाँजो खेतमा, घर त हिले हो, नौजाले मायाँ र धनकुटा डाँडा बजार गाएर उत्कृष्ट ७ मा आइपुगेका उनलाई सांगीतिक क्षेत्रमै आफ्नो भविशय खोज्न मन छ ।

७. दीपेन्द्र राई

देउसी भैलो र स्कुलमा गीत गाउँदा गाउँदै संगीतका सुरु बिना बाँच्न नै हम्मेहम्मे पर्नेरछ भन्ने अनुभव गर्न थाले भोजपुरका ३५ वर्षीय दीपेन्द्र राई । पुर्वेली लोक भाका गाउँदै नेपाल लोक स्टारको उत्कृष्ट ८ मा आइपुगेका दीपेन्द्रले धरान धनकुटा, सलल पानी, मालिङ्गा काटी, झमझम स्टकोट, वाइरोटको बााटोमा, आकासैमा चिल होइन, वारी जमुना लगायत गीत गाएर प्रतिस्पर्धीलाई पछि पार्दै आइरहेका छन् ।

नेपाली तारा सिङ्गगिङ्ग स्टारमा भाग लिइसकेका उनी पूर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोमा काम गर्छन् । सांगीतिक क्षेत्रमै भविश्य खोजिरहेका दीपेन्द्र राईले करिब तीन दर्जन गीत गाइसकेका छन् । संगीत नै जीवन हो भन्ने उनी संगीत बिनाको जीवन अधुरो हुने बताउँछन् ।