हामी कम्युनिष्ट राणा शासकहरु जस्तै बडाहाकिम भयौं : प्रचण्ड

असोज ९, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट बडाहाकिम जस्तै भएको बताएका छन् । बिहिबार रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राणा र शाह–शासकहरू जस्तै अहिलेका कम्युनिष्ट नेताहरु पनि बडाहाकिम भएको बताउँदै आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताए ।

‘शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो । पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने, राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने, पछि काम केहि नगर्ने । हामी कम्युनिस्ट पनि बडाहाकिमै जस्तै भयौं ।’ उनले भने, ‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन । राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं ।’

अध्यक्ष प्रचण्डले सेवा सुविधामा केन्द्रीत नहुन स्थानीय जनप्रतिनिधिलाई निर्देशन समेत दिए । ‘राजनीतिक कुराले मात्रै समृद्धि आउँदैन । सोच र शैलीमा परिवर्तन आवश्यक छ’, उनले भने, ‘अब आर्थिक, सामाजिक विकासमा जोड दिनुपर्छ ।’ राजनीतिक घोषणाले मात्रै देशलाई समृद्ध बनाउन नसकिने अध्यक्ष प्रचण्डको भनाई थियो ।

फाेटाे फाइल