सात वटा सरकारमा सहभागी महरा, जसको राजनीतिक उचाइ क्षणभरमा ढल्यो

असाेज १४, काठमाडाैं । यौन दुराचारको आरोप लागेपछि राजीनामा दिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा कम्युनिस्ट राजनीतिमा करिब चार दशकदेखि छन्। एउटा सानो कम्युनिस्ट पार्टीबाट राजनीति गरेका महरा अर्काे ठुलाे कम्युनिस्ट पार्टीबाट सभामुखसम्म पुगे ।

उनको उत्थान तुलनात्मक रूपमा अन्य नेताभन्दा छिट्टै भएको देखिन्छ। २०३५ सालतिर कृष्ण बहादुर महरा पथ्वीनारायण क्याम्पस पोखरामा पढ्थे । वामपन्थी राजनीतिमा उनको झुकाव थियो। वामपन्थी विद्यार्थीमाझ प्रशासनका आँखा छलेर रातिराति हुने छलफल र प्रशिक्षणमा महरा भाग लिन्थे।

एकदिन त्यस्तै एउटा छलफलमा भाग लिन महरा पुगेका थिए। त्यहाँ बोल्न आएका थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनले नेपालको वामपन्थी राजनीतिमा रहेको मूल समस्या के हो भनेर केलाए। उनले भने- जबजब निर्णायक लडाइँको स्थिति आउँछ, नेपालका वामपन्थीहरूले सम्झौता गर्ने गरेका छन्।

त्यस्तो अवस्थामा गर्नु पर्ने के हो पनि प्रचण्डले सुझाए- हामीले निर्णायक अवस्थामा बल प्रयोग गरेर सत्ता उल्टाउनुपर्छ। बल प्रयोगको त्यो ‘थ्योरी’ले महरालाई तान्यो। उनी प्रचण्डसँग त्यही बेलादेखि निकट भए। पछिल्लो ४० वर्षदेखि उनी प्रचण्डसँग निकटमात्र छैनन्, कैंयन् पटक उनका ‘दाहिने हात’ भएर काम गरेका छन्।

स्वभावले महरा धेरै बोल्दैनन्। बोल्ने, मानिससँग खुल्ने, खुला राजनीतिमा रमाउने महराको स्वाभाव होइन। उनी सभामुखको कुर्सीबाट बोल्नु पर्दा पनि झिँजो मानेझैं देखिन्छन्। पर्दा पछाडिको राजनीतिक जोड घटाउमा भने महरा प्रचण्डका प्रमुख खेलाडी हुन्।

बहुदल स्थापनापछि २०४८ सालको पहिलो आमनिर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा (मशाल)ले पनि भाग लिने निर्णय गर्‍यो। संयुक्त जनमोर्चा गठन गरेर मशालले चुनाव लड्यो।

त्यो निर्वाचनमा महरा रोल्पाबाट चुनाव लडे र निर्वाचित भए। देशभरबाट ९ सिट जितेर जनमोर्चा मुलुकको तेस्रो ठूलो राजनीतिक दल बन्यो। महरा त्यसको संसदीय दलको नेता बने।

२०५१ सालको मध्यावधि निर्वाचनमा जनमोर्चाले भाग नलिने निर्णय गर्‍यो। २०५२ सालमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीले जनयुद्ध गर्ने निर्णय गर्‍यो। त्यो जनयुद्धको थालनी महराको रोल्पा जिल्लाबाटै भएको थियो।  जनयुद्धको पहिलो पंक्ति महरा नै थिए।

सात वटा सरकारमा सहभागी

सशस्त्र जनयुद्व गरेकाे माओवादीले शेरबहदुर देउवाको सरकारसँग वार्ता गर्ने निर्णय गर्यो। मआओवादी तर्फबाट वार्ताको नेतृत्व गरेर महरा नै आए। शान्ति प्रक्रियापछि माओवादी पार्टी खुला राजनीतिमा आयो। धेरै पटक सरकारमा गयो। माओवादीबाट धेरै पटक मन्त्री बन्नेमा महरा नै अग्रपंक्तिमा छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि गत निर्वाचनसम्म १० वटा सरकार बने। जसमध्ये ७ वटा सरकारमा महरा सहभागी भए। सरकार बाहिर हुँदा होस् वा भित्र महराले राजनीति मिलाउने काममा प्रचण्डलाई सधैँ साथ दिए। प्रधानमन्त्री हटाउन अविश्वासको प्रस्ताव तयार गर्नेदेखि अर्को पार्टीसँग राजनीतिक गठबन्धन गर्ने सबै काममा महराले नै मोर्चा सम्हाल्थे।

दोस्रो संविधान निर्वाचनमा पनि माओवादी संसदमा तेस्रो शक्ति बन्दा कहिले एमालेतिर मिलाउन भूमिका खेले कहिले कांग्रेससँग जोड्न भूमिका खेले।

जनआन्दोलन सफल भएपछि पहिलो पटक २०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महरा सूचना तथा सञ्चार मन्त्री बनेका थिए। त्यसपछि २०६५ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी सूचना तथा सञ्चार मन्त्री बने।

नेपालको राजनीतिक संक्रमणकालको फाइदा महरालाई नै सबैभन्दा धेरै उठाए। २०६७ सालमा उनले उपप्रधानमन्त्री र गृह मन्त्रालय सम्हाले भने २०७३ सालमा उपप्रधानसँगै अर्थ मन्त्रालयको जिम्मेवारी पाए। उनी २०७४ सालमा उपप्रधानसँगै परराष्ट्र मन्त्री भए। २०७४ मंसिरमा भएको निर्वाचनमा दाङबाट सांसद बनेपछि २०७४ को फागुनदेखि उनी सभामुखको भूमिकामा थिए।

२०३७ सालदेखि २०४७ सालसम्म शिक्षण पेसामा रहेर पार्टीको काम गरेका महरा २०५३ सालमा माओवादी पार्टीको केन्द्रीय सदस्य बनेका हुन्। २०५५ मा पोलिटब्युरो सदस्य हुँदै उनले २०६५ मा स्थायी समितिमा उक्लने मौका पाए। २०७१ मा तत्कालिन माओवादीको महासचिव निर्वाचित भएसँगै उनी माओवादीको नयाँ नेताका रूपमा देखिए।

२०६४ मा दाङ र २०७० मा रोल्पा अनि २०७४ मा पुन: दाङबाटै सांसद बनेका उनले एमाले र माओवादी केन्द्रको एकतासँगै सभामुखको भूमिका पाएका हुन्।

धेरैपटक विवादमा तानिएपनि उन्मुक्ति

प्रधानमन्त्रीको चुनाव लगातार अनिर्णित भइरहेका बेला १० वर्षअघि एउटा फोनवार्ताको गम्भीर विवादमा परेका थिए। चिनियाँ भनिएका नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको उक्त फोनवार्ताबारे छानबिनको माग भएको थियो।

त्यो उनको व्यक्तिगत राजनीतिक जीवनमा मात्र नभई सिङ्गो नेपाली राजनीतिको कुरूप अनुहार उजागर रहेको टिप्पणी भएका थिए। धेरैले त्यसलाई नेपाली नेताहरूले बाह्य शक्तिसँगको साठगाँठ र उनीहरू आन्तरिक राजनीति प्रभावित तुल्याउन कसरी बाह्य लाभ लिन तयार हुन्छन् भन्ने खुला गरिदिएको ठाने। तर त्यसबारे कुनै अनुसन्धान भएको बाहिर आएन। त्यो प्रकरण त्यसै सेलायो।

उपप्रधान एवम् गृहमन्त्री छँदा भने उनले अन्य पूर्ववर्तीले जस्तो प्रहरी सेवाको सरूवा बढुवामा महानिरीक्षकमाथि ‘हस्तक्षेप’ नगरेको बताइन्छ। तर सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहँदा उनको कार्यकाल विवादमुक्त रहेन। टेलिकम कम्पनी र ठूला व्यापारिक साझेदासँगको हिमचिमलाई लिएर उनको आर्थिक छविमाथि प्रश्न उठाइयो।

सबैभन्दा ठूलो त माओवादी अस्थायी शिविरमा भएको भनिएको ठूलो आर्थिक अनियमिततालाई लिएर प्रश्नहरू उठाइए। स्वयम् माओवादीको हेटौडा महाधिवेशनमा कार्यकर्ताले नाराबाजी गरे।

अख्तियारमा उजुरी पर्‍यो। तर कैयौँले पार्टी प्रमुख प्रचण्डको विश्वासपात्रको रूपमा त्यसो गरेकाले उनलाई संरक्षण गरिएको अर्थ लगाए। ईसाई धर्मगुरूबाट आशीर्वाद लिएको तस्बिरलाई लिएर पनि महरा विवादमा तानिए। तर तस्बिरको अनर्थ लगाइएको भन्दै त्यसको खण्डन गरिएको थियो।

सांसद किनबेच गर्न विदेशी व्यापारीसँग करोडौंको डिल गरेको टेप सार्वजनिक हुँदा जोगिएका महरा यसपालि अर्को संगीन अपराधबाट भने उम्कन पाएनन्। संसद सचिवालयमै काम गर्ने कर्मचारीले बलात्कारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा गरेका छन्। नेकपाले भने उनलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन भनेको छ।

अब प्रहरीले उनीमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्नेछ। आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिलाले अहिलेसम्म प्रहरीमा जाहेरी दिएकी छैनन्। काठमाडौंबाहिर रहेका आफ्ना श्रीमान फर्किएपछि जाहेरीबारे निर्णय गर्ने उनको भनाइ छ।

ती महिला र उनका श्रीमानलाई जाहेरी नदिन वा बलात्कारको आरोपबाट पछि हट्न पक्कै दबाब हुनेछ। उनले दिएको बयानका आधारमा महरा जेल जानुपर्ने अवस्था आउँछ वा आउँदैन एकिन छैन। तर एउटा कुरा भने प्रष्ट छ- महराको राजनीतिक भविष्य अब अवसानतिर लागेको छ।

सम्बन्धित समाचार

महरा प्रकरण : प्रहरीले थाल्यो यस्तो अनुसन्धान

महराले दिए सभामुख पदबाट राजीनामा

सभामुख महराकाे ओली र प्रचण्डसँग भेट, राजीनामा दिने सम्भावना

सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप