सल्यान घर भएका स्वास्थ्यकर्मी युवाहरु मिलेर निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरे

असोज १६, सल्यान । सल्यान जिल्लामा घर भएर विभिन्न जिल्लामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत युवाहरुले निशुल्क स्वस्थ्य शिविर सम्पन्न गरेका छन् ।

बिहीबार सल्यानको शारदा नगरपालिका ९ बागचौरको कृष्ण माविमा भएको निशुल्क स्वस्थ्य शिविरमा २ सय १० जनाले स्वस्थ्य जाँच गराएका छन् । जसमा ५० जना जति सामान्य खालको र एक सय ६० जनालाई टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोखी, ज्वारो, पेट पोल्ने, छाती दुख्ने जस्ता लक्षण देखिएको शिविर आयोजना गर्ने मध्येका हेल्थ असिसिस्टेन करण ओलीले बताए ।

यी लक्षण देखिएका बिरामीहरुलाई ओषधी र सिटामोल दिइएको उनले बताए । बाँकी सामान्य खालकालाई स्वस्थ परामर्श दिइएको छ ।

सल्यान भित्र र अन्य बाहिर जिल्लामा स्वस्थ्य क्षेत्रमा कार्यरत ११ जनाको समुह मिलेर शिविरको आयोजना गरेको अभियान्ता रोषण डाँगीले लेकाली अनलाइनलाई बताए । उनले आगामी दिनमा पनि आफुहरुको समुह मिलेर सल्यानका अन्य क्षेत्रहरुमा पनि निशुल्क शिविर संचालन गर्ने बताए ।

शानपा ९ बागचौरमा भएको शिविरमा अभियान्ताहरु करण ओली, रोषण डाँगी र निर्मल बुढाथोकी खटिएका थिए । शिविरको आयोजकको भुमिकाको रुपमा राइट पाथ करिअर काउन्सिलले लिएको थियोभने विभिन्न अस्पतालहरुले औषधि सहयोग गरेका थिए ।