सल्यानमा बालविवाह गरेको आरोपमा १९ वर्षका दुलहा-दुलही सहित ७ जना पक्राउ

असोज १७, सल्यान । सल्यानमा बालविवाह गरेको अभियोगमा दुलहा र दुलही सहित ७ जना पक्राउ परेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ४ स्थित १९ वर्षका दुलहा र १९ वर्षकै दुलही सहित सात जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुलहाका आमाबुबा, दुलहीका आमाबुबा र विवाह गराउने पण्डित पनि रहेका छन् । उनिहरुलाई बिहीबार दुलहाको घरबाट विवाह गर्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

विवाह गर्न लागेको भनेर आएको गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको उनले बताए । उनिहरुलाई अहिले जिल्ला प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी खतिवडाले बताए ।

नेपालको संविधानमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज छ । बालविवाह कसुरमा दोषि देखिए ३ वर्ष कैद र ३० हजार जरिवानाको कानुनी व्यवस्था छ ।