छत्रेश्वरी गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर १० मिटर चौडा सडक बनाउन थाल्यो

असोज १७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले राप्ती राजमार्ग अन्तरगतको शंखमुलबाट दारिमज्युला–जयचौर हुँदै खर्सुबाससम्मको सडक स्तरोन्नती सुरु गरेको छ । बाह्रै महिना गाडी चलाउने उद्देश्यका साथ गाउँपालिकाले आफ्नै डोजर लगाएर सडक स्तरोन्नती सुरु गरेको हो ।

पहिले ४ मिटर चौडा रहेको उक्त सडक अब नालासहित १० मिटर बनाउन थालिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । उनका अनुसार निर्माणकार्य सुरु गरेयता २ किलोमिटर काम सम्पन्न भइसकेको छ ।

अहिले निर्माण कार्यमा गाउँपालिकाको एउटा डोजर, दुईवटा जेसिबी र एउटा टिपर लागेका छन् । गाउँपालिकाको अन्य क्षेत्रमा बिग्रीएको सडक मर्मतको लागी बेलाबेलामा एउटा जेसिबी पठाउनु पर्ने भएकोले एउटा जेसीबी र डोजर भने नियमित काममा लागेको अध्यक्ष केसीले लेकाली अनलाइनलाइ बताए ।

३५ किलोमिटर लामो सडकको यो बर्ष आधा जति काम हुने गाउँपालिकाले जनाएको छ । २०३८ सालमा ट्रयाक खोलिएको उक्त सडकमा २०६३ देखि गाडी चल्न थालेका थिए । बारम्बार सम्बन्धित निकायमा माग गर्दै आए पनि कसैले सहयोग नगरेपछि गाउँपालिकाले आफै डोजर लगाएर स्तरोन्नतिको काम सुरु गरेको अध्यक्ष केसीले जानकारी दिए ।

उनले भने, ‘हामीले टेण्डर गरेर ठेक्कापट्टाबाट काम गरेको भए धेरै काम हुने थिएन । आफैले डोजर किनेर काम गर्दा कयौँ गुण सस्तो पर्ने भयो ।’ यसअघि पनि गाउँपालिकाको आफ्नै डोजरले काम गर्दा तिन गुण कम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए ।

यो वर्ष पुरै काम सम्पन्न नभए पनि क्रमागत रुपमा गर्ने गाउँपालिकाको योजना छ । यो सडक सम्पन्न गरेपिछ गाउँपािलकाको अन्य क्षोत्रमा यस्तै सडक बनाउने छत्रेश्वरीको योजना छ । यसअघि यो गाउँपालिकाले शंखमुल देखि काँरागीठी तुसारेसम्म २३ किलोमिटर सडकलाई ८ मिटर चौडा बनाएर खनेको थियो ।

यो सडक निर्माणबाट सल्यानका झिम्पे र त्रिवेणी गाउँपालिका तथा रोल्पाको जिनाबाङ, ओत र जुंगारका नागरिकहरु लाभान्वित हुनेछन् । यो सडकमा हाल शंकमुलबाट जयचौरसम्म गाडी चल्दै आएका छन । स्तरोन्नतिसँगै उक्त सडक सल्यानको कपुरकोटबाट रोल्पा सल्यानको सिमाना झ्याम हुँदै रुकुम खौला जोड्ने उत्तरदशिण राजमार्गमा जोडिने छ ।