वरिष्ठ पत्रकार तथा न्युज २४ का समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन

असोज १९, काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ। उनी कलेजोको समस्याबाट पीडित थिए।

उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले रासससँग बताएका छन्।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई आचार्य नायब महाप्रबन्धकबाट अवकाश पाएका थिए। उनी हाल न्यूज २४ टेलिभिजनको समाचार प्रमुख थिए।

उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढाउँथे। पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो। उनका श्रीमती र एक छोरी छन्।