माटोको सहरमा पाहुनाको लर्को

कात्तिक ३,मुस्ताङ ।  ललितपुर लगनखेलका महेश मास्केले लोमन्थाङ आइपुगेपछि भने, ‘अलौकिक भूमिमा पुगेको महसुस भयो । प्रकृतिको बरदान हामीले बुझ्न र चिन्न नसकेका रहेछौं ।’ काठमाडौंको प्रदूषणबाट मात्र होइन, निराशा र कुण्ठाबाट पनि मुक्ति मिलेको भन्दै उनले ठूलो सम्भावनाको सपना बोकेर फर्किएको बताए । उनी साथीसहित लोमन्थाङ घुम्न आइपुगेका हुन् ।

विश्व सम्पदामा सूचीकृत ‘माटोको सहर’ लोमन्थाङमा यतिबेला बाह्य तथा आन्तरिक पर्यटकको लर्को छ । बालुवा नै बालुवाको सुक्खा भूगोलले मात्र होइन, हिमालपारिको मुस्ताङ र तिब्बत सीमावर्ती कोरला नाका पर्यटकका लागि आकर्षण र कौतूहलका स्थान हुन् । सीमावर्ती तिब्बतसँग लोमन्थाङको धर्म, भाषा, संस्कारमात्र मिल्दैन, भौगोलिक रूपमा पनि उस्तै छ ।

विसं १८४६ देखि बृहत् नेपाल राष्ट्रमा गाभिएको मुस्ताङ लामो समयसम्म विदेशी पर्यटकका लागि खुला थिएन । तिब्बती सीमासम्म मोटरबाटो बनेपछि उपल्लो लोमन्थाङमा आन्तरिक पर्यटकको ओइरो लागेको हो । सीमावर्ती छोसेरस्थित इलाका प्रहरी कार्यालयको अभिलेखअनुसार यसपटक दसैंपछि मात्रै दैनिक ३ सय मोटरसाइकल र एक सयवटाभन्दा बढी जिप कोरलासम्म पुग्ने गरेका छन् ।

‘कोरला नाका हेर्न जाने आन्तरिक पर्यटक धेरै हुन्छन् । केही विदेशी पनि जाने गरेका छन्,’ इप्रका छोसेरका हवल्दार श्यामकुमार थापाले भने, ‘असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठमा पर्यटक कोरलासम्म पुग्छन् । ८० प्रतिशत अन्तरिक पर्यटक दसैं–तिहारको बीचमा आउँछन् ।’

बाह्य पर्यटकलाई भने २०५० सालदेखि मात्र उपल्लो मुस्ताङमा नियन्त्रित रूपमा प्रवेश खुला गरिएको हो । सामान्यत: मुस्ताङलाई तल्लो र उपल्लो भेगका रूपमा लिने गरिएको छ । जोमसोमदेखि मुक्तिनाथसम्मको क्षेत्र तल्लो र लोमन्थाङसँगै कोरलासम्मको क्षेत्रलाई उपल्लो मुस्ताङ भन्ने गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमन्थाङ कार्यालयका अनुसार वार्षिक ४ हजार जनाभन्दा बढी बाह्य पर्यटक लोमन्थाङ आइपुग्ने गरेका छन् ।

उपल्लो मुस्ताङ भ्रमणमा जान कम्तीमा २ जनाको समूहमा र न्यूनतम १० दिनको ५ सय डलर अतिरिक्त शुल्क बुझाएर अनुमति लिनुपर्छ । कारण खुलाएर थप बस्ने पर्यटकले दैनिक अतिरिक्त ७० डलर तिर्नुपर्छ । चैलेदेखि माथिका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समेटिएका बस्ती उपल्लो मुस्ताङमा पर्छन् ।

‘सडक विस्तारले नेपालीको ओइरो लागेको छ,’ एक्याप लोमन्थाङका निमित्त प्रमुख श्रीकृष्ण न्यौपानेले भने, ‘ट्रेकिङ रुटलाई सडकले नासेपछि प्रदूषण बढेको विदेशीको गुनासो हुन्छ । तिब्बतको बोर्डर एरिया भएकाले उपल्लो मुस्ताङ प्रवेशमा विदेशीले थप शुल्क र सर्त पनि पालना गर्नुपर्ने भएकाले उनीहरूको संख्या थोरै देखिएको हो ।’

आकर्षक मध्ययुगीन बस्ती लोमन्थाङ र मुस्ताङका प्राचीन बस्ती हेर्न पर्यटकको ओइरो लाग्न थालेपछि स्थानीयले धमाधम आधुनिक पूर्वाधारयुक्त रेस्टुरेन्ट र होटल बनाउन थालेका छन् । लोमन्थाङमा मुस्ताङी पूर्वराजकुमार जिग्मेसिग्मे परवल विष्टले २० करोडको लागतमा रोयल मुस्ताङ रिसोर्ट खोलेका छन् । विष्टलाई अहिले पनि स्थानीयले सांस्कृतिक राजा मानेका छन् । होटल व्यवसायी समितिका अनुसार लोमन्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० वटा होटल छन् । यी होटलमा २ सय २८ कोठामा ५ सय बेड छन् ।