भक्तपुरमा पुर्व माओवादी र एमालेवीच झगडा, पार्टीभित्र भाँडभैलो

कार्तिक १९, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाएका हुन् ।

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । जेलनेल भोगेका उनी वर्षमान पुन अर्थमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए । उनले विश्वको अर्थतन्त्रबारे पुस्तकसमेत लेखेका छन् ।

भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ । भक्तपुरमा ०७४ सालको चुनावमा माओवादीले पाएको टिकट तत्कालीन एमालेले जबर्जस्ती खोसेर लगेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । अहिले पनि त्यहाँ पूर्वमाओवादीलाई टिकट दिएकोमा पूर्वएमालेले नपचाएको गुनासो पूर्वमाओवादीका नेताहरुको छ ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरुको तर्क छ । तर, पूर्वमाओवादीका नेताहरु भने ०७४ को चुनावमा डीपी ढकाल बागी उम्मेदवार नभएर एमालेका हरिशरण लामिछाने चाहिँ बागी भएको बताउँछन् ।

गत निर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १ (क) तत्कालीन एमाले र माओवादी गठबन्धनको तर्फबाट हरिशरण लामिछाने निर्वाचित भएका थिए । लामिछानेको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारका लागि भक्तपुर जिल्ला कमिटीले डीपी ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीमा पठाएको थियो । प्रदेश कमिटीले भने ढकाल, रमेश बुढाथोकी, मोहनबीर श्रेष्ठ र नारायण फुयाँलको केन्द्रमा पठाएको थियो । यीमध्येबाट केन्द्रले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।