दाङ आइपुगे प्रचण्ड, प्रदेश ५ काे स्थायी राजधानीकाे विषयमा यस्ताे भन्छन्

कार्तिक १९, दाङ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आएका छन् । नेकपा दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणलाई सम्वोधन गर्न उनी दाङ आएका हुन् । साथै बुधबार बिहान ८ बजे घोराहीमा पत्रकार सम्मेलन हुने भएको छ ।

त्यस्तै घोराहीमै दाङ उद्योग बाणिज्य संघले स्वागत गर्नेछ । त्यस्तै प्रचण्डले घोराहीको शहीद कृषणसेन ईच्छुक प्राबिधिक शिक्षालयको पनि निरीक्षण गर्ने भएको छ ।

त्यसपछि नेकपाका केन्दीय सदस्य भागवत विश्वासमा घरमा पुगेर समवेदना प्रकट गर्ने र तुलसीपुर जाने कार्यक्रम रहेको नेकपा दाङले जनाएको छ । त्यसपछि ११ बजे तुलसीपुरको दोघरेमा रहेको सभाहलमा कार्यक्रम हुने नेकपा दाङका प्रचार बिभाग उपप्रमुख आजाद खड्काले बताए ।

प्रदेश राजधानीकाे विषयमा प्रचण्डकाे बाेलि

दाङ आउनुपुर्व नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको स्वागत तथा समसामयिक विषयमा छलफल कार्यक्रममा प्रचण्डले प्रदेश ५ काे स्थायी राजधानीबारे बाेलेका छन् । उनले सबैलाई सहज हुने र सबैको निम्ति सुविधा हुने ठाउँमा प्रदेशको राजधानी तोकिनु पर्ने बताए ।

“त्यसका लागि पहल कदमी भइराखेको छ, यो मैले तपाईंको अगाडि आश्वासन दिनमात्रै भनेको होइन”, उनले भने, “मेरो, प्रधानमन्त्री र पार्टीका अरु नेताहरू बीचमा कुरा हुँदा पनि सैद्धान्तिक सहमति भएको छ, अब व्यावहारिक रूप दिन मात्रै बाँकी छ ।”

उनले नेपालगञ्ज नेपालको राजनीतिक परिवर्तनको एउटा ऐतिहासिक केन्द्र रहेकाले नेपालगञ्ज कमजोर हुनु हुँदैन भन्ने मान्यताका साथ अघिल्लो पटक सुशील कोइराला नभए पनि आफूलाई अभिभावक मान्दा हुन्छ भनेको बताए । उनले त्यसमा अहिले पनि उही दृढताको साथ प्रतिबद्ध रहेको जानकारीसमेत गराए ।

“मेरो हेराइमा नेपालगञ्जलाई कसैले कमजोर पारेर कमजोर हुने स्थितिमा छैन”, अध्यक्ष दाहालले भने, “हिल्सा–जमुनाह रोड ठूलो भइसकेपछि नेपालगञ्ज फेरि एकपटक ठूलो व्यापारिक तथा पर्यटकीय केन्द्र हुनेवाला छ । धेरै चिन्तित हुनुपर्ने स्थिति नेपालगञ्जको होइन ।”

नेपागञ्ज उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष वैश्यले पूर्व प्रधानमन्त्री दाहाललाई नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने, नेपालगञ्जलाई औद्योगिक नगरका रूपमा विकास गर्नुपर्ने, नेपालगञ्जमा प्रदर्शनी केन्द्रका लागि जग्गा उपलब्ध गराउनुपर्ने लगायत सातबुँदे मागपत्र बुझाएका छन् ।