भारतले लिपुलेक लिएपछि विप्लव कड्किए, निकाले यस्तो वक्तव्य

कार्तिक २०, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै नेकपाले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले बुधबार निकालेको विज्ञप्तिमा संघर्षका कार्यक्रम अन्तर्गत यही कार्तिक २६ गते भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरिएको छ । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम नेकपाले सार्वजनिक गरेको छ ।

यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।