दुई वर्षमा कर्णाली अध्यारोमुक्त हुन्छ, मदन राजमार्गले रोल्पा-सल्यानलाई छुन्छः मन्त्री पुन

कार्तिक २०, सल्यान । उर्जा, जलस्रोत तथा सिचाँई मन्त्री बर्षमान पुनले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशलाई अध्यारोमुक्त बनाउने बताएका छन् । सल्यानकाे दार्मा गाउँपालिकामा बिजुली बत्तीको उद्घाटन गर्दै मन्त्री पुनले त्यसको लागी आफुहरु लागिपरेको बताए ।

यसैवर्ष मात्र ४१ वटा जिल्लालाई पुर्ण अध्यारोमुक्त जिल्ला घोषणा गर्न लागेको बताउँदै मन्त्री पुनले २ वर्षमा कर्णाली प्रदेशका सबै घरमा विद्युत विस्तार हुने बताए । उनले भने, ‘तपाईहरु काम सुरु गर्नुहोस्, बजेट पुग्दैन भने हामीलाई भन्नुहोस् । हामी माथीबाट पठाइदिन्छौँ ।’

आगामी वर्षका लागी बहुबर्षे कार्यक्रम लागु गर्ने उनले बताए । उनले भने, ‘कुनै पनि खोला कोप्चाका घरहरु अध्यारो हुनेछैन्, यसमा हामी लागिपरेका छौं । विद्युत बत्ती बाल्ने हाम्रो मौलिक अधिकार हो र हरेक नेपालीको नैसर्गीक अधिकार पनि छ ।’

त्यसैगरी उनले भेरी नदिको पानीलाई सतह र लिफ्ट सिस्टमबाट खेतबारीमा सिचाँइ पुर्याउने कार्यपनि थालनी हुने बताएका छन् । सल्यान विगतमा पछि परेको भन्ने गुनासो सुनिएको भन्दै उनले अब सल्यान विकासमा पछि नपर्ने बताए ।

मदन भण्डारी राजमार्गले रोल्पा, सल्यानलाई छुन्छ 

मदन भण्डारी राजमार्गले रोल्पा र सल्यान जिल्लालाई छुने मन्त्री पुनले बताए । अन्य राजमार्गले अरु जिल्लालाई छोएको भन्दै उनले मध्य पहाडमा पर्ने रोल्पा र सल्यानलाई मदन भण्डारी राजमार्गले छुने बताए ।

मन्त्री पुनले भने, ‘मैले क्याबिनेटमै प्रधानमन्त्री र भौतिक मन्त्रीसँग कुरा राखेको छु । जसरी पनि मदन भण्डारी राजमार्ग रोल्पा, सल्यान हुँदै सुर्खेत जान्छ । सल्यान र रोल्पालाई छुदैन भन्ने बाहिर हल्ला मात्रै हो ।’

कार्यक्रमलाई प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लगाएतले सम्बोधन गरेका थिए ।