अब कर्णालीमै पत्रकारितामा ‘डिग्री’ पढ्न पाइने

कार्तिक २३, सुर्खेत । कर्णाली प्रदेशमै अबदेखि आमसञ्चार तथा पत्रकारिता विषयको स्नात्तकोत्तर तह पढाइ हुने भएको छ । प्रदेश राजधानी सुर्खेतमा रहेकाे मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गत मानविकी तथा सामाजिक संकायले पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा कक्षा सञ्चालन गर्न लागेको हो ।

विगतमा पत्रकारिता विषयमा ‘डिग्री’ पढ्नकाे लागी काठमाण्डौ धाउनुपर्ने बाध्यता थियाे । आउँदो माघदेखि सेमेस्टर पद्धतिमा स्नात्तकोत्तर तहको पढाइ सञ्चालन गर्ने तयारी पूरा भएको विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका अध्यक्ष तथा उप-प्राध्यापक युवराज शर्माले जानकारी दिए ।

पत्रकारिता विषयको स्नात्तकोत्तर तहका लागि त्रिभुवन विश्वविद्यालय चर्चित छ । तर देशकाे राजधानी बाहिर कर्णालीमा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारिताको स्नातकोत्तर तह सञ्चालन गर्न लागेको हो ।