भारतले बिहानैदेखि नेपालगन्ज नाका बन्द गर्यो


कार्तिक २३, नेपालगन्ज । भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् ।

भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेको बारेमा औपचारिक रुपमा जानकारी नआएको बताएका छन ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । भारतबाट नेपालतर्फ आउन भने दिइएको छ ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

आधिकारिक परिचय पत्रबिना कसैलाई पनि सीमामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्कूल तथा क्याम्पस दुई दिनका लागि बन्द गरिएको छ ।

अर्धसैनिक बलका झण्डै ४० हजार जवान राज्यभर तैनाथ भएका भारतीय संचार माध्यमले जनाएका छन् । फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी कडा पारिएको छ ।

हिजोदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडकमा पैदल यात्रुलाई मात्रै हिँड्न दिइएको छ । राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाई गएको अक्टोबर १६ अर्थात असोज १९ गते पूरा गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोईले आउँदो मंसिर १ गते अवकास पाउने भएकाले त्यो भन्दा अगाडि नै सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिए अनुसार आज फैसला सुनाइन लागेको हो । राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला ऐतिहासिक हुनेछ ।

राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ ।

हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् ।