ओली सरकारको लाजमर्दो हर्कत, भारतको विरोध गर्नेलाई सार्वजनिक मुद्दा लगाउने प्रहरीको तयारी


कार्तिक २४, काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा प्रदर्शन गर्नेलाई नेपाल प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

भारतीय नक्सा विरुद्ध आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दा पक्राउ परेका एक दर्जनबढी विप्लव नेकपा निकट विद्यार्थीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाउने तयारी गरेको हो ।

नेपालको झण्डा बोकेर विद्यार्थीहरु कालापानी, लिम्पियाधुरा र लिपुलेकको माग गर्दै विरोध सभामा थिए । लगत्तै प्रहरीले कार्यक्रममा हस्तक्षेप गरि लठ्ठी चार्ज गर्दै २० जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर विप्लवका विद्यार्थीले भारतको विरोध कार्यक्रम गरेको बताए । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’

पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए । गत शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

 

 

यो पनि: भारतीय नक्साको विरोधमा प्रदर्शन गर्दा काठमाडौंबाट १२ जना पक्राउ