सल्यानको एक कार्यालयले राजनीतिक पावरमा नभएर गरिबलाई घरमै गएर जागिर दियो

मिना बुढाथोकी / कार्तिक २६, सल्यान । पछिल्लो समय हरेक क्षेत्रमा राजनैतिक दबाव र हुनेखाने वर्गकै बोलबाला छ । कुनै अवसर आयो कि नेताहरुको  पहिलो प्राथमिकतामा कार्यकर्ता हरु पर्छन् । अनि दोस्रोमा टाठाँबाँठा भनिएका हरुले पहुँचको अधारमा अवसर हात पारी हाल्छन् ।

अवसरको खोजीमा रहेका यस्ता बर्गले दुर दराजमा रहेका पिछडिएका अथवा कमजोर वर्गसम्म कुनैपनि सेवाको पहुँच नपुगेको जग जाहेरै छ । तर सल्यानको एक कार्यालयले भने कर्मचारी छनौट प्रकृयालाई नयाँ ढंगले सम्पन्न गरेको छ ।

जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालयमा कर्मचारी छनौट गर्न कुनै राजनैतिक दवाव वा अन्य प्रलोभनमा नपरि स्थानीय स्तरमा आर्थिक अवस्था कमजोर भएकालाई घरमै पुगेर नियुक्ति दिएको छ ।

बुवाको मृत्यु पछि आमा र भाइको साथमा जिवन गुजारा गरि रहेका  कालिमाटी गाउँपालिका वडा नम्बर ५ बालुवा निवासी १८ वर्षीय चित्र बहादुर राना मगरले सोचेका पनि थिएनन् यति सानो उमेरमा जागीरे जिवनमा प्रवेश गरिन्छ भनेर । तर जिल्ला हुलाक कार्यालयबाट कार्यालय प्रमुखको नेतृत्वमा घरमै पुगेको टोलीले तपाँइ योग्य हुनुहुन्छ भनेपछि उनि चकित परे ।

उनि संग कुनै शब्दनै थिएन् । केही बालेनन् । पाएको जिम्मेवारी पुरा गर्न सक्छु सर उनको मुख बाट यति मात्रै आवाज आयो ।

कालिमाटी गाउँपालिकाको वडा नम्बर ५ काल्चेमा रहेको इलाका हुलाक कार्यालयमा हुलाकीका लागी कर्मचारी आवश्यकता परेपछि कुनै स्वार्थ दबाब र प्रभावमा नपरि स्थानीय कर्मचारीहरुलाई बिपन्न परिवारबाट योग्य ब्यक्ती छनोट गर्न लगाईघरमै पुगि नियुक्ति दिएको जिल्ला हुलाक कार्यलय सल्यानका प्रमुख धिरेन्द्र बहादुर भण्डारीले जानकारी दिए ।

उनले हुने खाने वर्गले उच्च शिक्षा पढाउन सक्ने र अन्य पेशा व्यवसायलाइ पनि अंगाल्न सक्ने भएकाले दुर्गम र बिकट स्थानबाट कर्मचारी छनौट गरिएको बताए । उनले यस जागीका लागी पनि आफुलाइ विभिन्न ठाउँबाट हाम्रो मान्छे हुनु पर्छ भनेर दबाव आएपनि बेवास्ता गर्दै पिछडिएको वर्गलाइ समेट्न सफल भएको बताए । उनले भने, ‘बल्ल सही व्यक्तीले अवसर पाएको छ ।’

हुलाकी सेवामा प्रवेश गरेका चित्र बहादुर राना अहिले कक्षा १० मा अध्यनरत छन् । ‘सम्पत्तीको नाममा एउटा खरले छाउको घर छ, संगै छेउमै अर्को गोठ र त्यही भित्र भाँसा । आमा कान कम सुन्नुहुन्छ ।’, उनले भने ।

हालै आमाको कानको अप्रेशन भएको हो चित्र बहादुरले बताए । ‘अप्रेशन गर्न हामी संग पैसा थिएन् गाउँलेहरुले सहयोग बापत चन्दा उठाएर रकम संकलन गरेपछि अप्रेशन गर्न सफल भएका हौं ।’, उनले भने । ‘अहिले तीन महिना पुग्ने जग्गा पनि अ‍ैलानी छ ।’

बाँकी ज्याला मजदुरी र अन्य कामकाजले घरको छाक टर्ने गरेको उनि बताउँछन् । ‘बुवा छँदा इन्डिया गएर कमाउनु हुन्थ्यो र हामीलाइ समस्या थिएन् ।’, उनि भन्छन्, ‘तर अहिले छाक टार्न धौ धौ परेको छ । जागिर पाएको अझैं पनि विश्वास लागेन ।’

उनि भन्छन्, ‘तलब आएपछि के गर्ने सोचेकै छैन् । पैसा भएपछि घरलाइ अल्ली राम्रो बनाउनु छ । आमालाइ धेरै दुख गर्न दिन्न र भाइलाइ पढाउँछु ।’

चित्र बहादुरले रोजगारी पाउने कुराले उनका छिमेकी पनि निकै खुशी र उत्साहित देखिए । जिल्लाबाट स्थलगत अवस्था बुभ्mन पुगेको टोली संग कुरा गर्दै छिमेकी दिली बराइलीले सबैलाइ धन्यवाद दिइन् ।

उनले गरिब दुखिका दिन पनि आउने रहेछन भन्दै उनले अब इनीहरुका दुखपनि अल्लि कम हुन्छन भनेर खुशि बाँडिन् । जिल्ला हुलाक कार्यालयले यसरी पिछडीएको वर्गलाइ पनि समेटेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।