प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा, जिम्मेवारी पनि हस्तान्तरणको तयारी

मंसिर १, काठमाडाैं । आज मंसिर १ गते  राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक गरिएको मिर्गौलाको डायलाइसिसको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ ।

अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा।डा।प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो । स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो ।

नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् ।

प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ ।

शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् । चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् ।

प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ ।

नयाँ पत्रिका दैनिककै अनुसार प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

यता कान्तिपुर दैनिकले भने नेकपाका अध्यक्षद्वयबीच वार्ता धेरै भए पनि विश्वास भने थोरै रहेको समाचार प्रकाशित गरेको छ । दुई अध्यक्षबीच पटक–पटक घन्टौँ वार्ता हुँदा पनि धेरै विषयमा कुरा मिल्न सकेको छैन ।

पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालीन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति नजुटेको समचार प्रकाशित गरेको छ । यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला–बेला सार्वजनिकरुपमै विवाद र असन्तुष्टि देखिने गरेका छन् ।