कानुन मन्त्रालय सम्हाल्दै उपेन्द्र यादवले भने- किन छाड्ने सरकार

मंसिर ९, काठमाडाैं । उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।

यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए।

यादवले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको प्रतिक्रिया दिएका छन्।

कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताए।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’ यादवले पत्रकारहरूसँग मन्त्रालयमा भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन। अहिले किन छाड्ने सरकार?’

यादवले संविधान संशोधन राजनीतिक कुरा भएको बताए।

‘अब संविधान संशोधन गर्ने बेला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अली बढी नै माया गरेर हुनुपर्छ कानुन मन्त्रालय पठाउनुभयो।’

मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताए।