पर्यटक पर्खिरहेकाे सल्यानको ‘मालिका लेक’

मंसिर १३, सल्यान । सल्यानको एउटा आकर्षक लेकको रुपमा हेरिएको मालिका लेक पछिल्लो समय पर्यटकीय गन्तव्यको आकर्षण बन्दै गएको छ । दार्मा गाउँपालिका वडा नम्बर ४ र कुमाख गाउँपालिकाको सिमानामा रहेको मालिका लेक पर्यटकको आकर्षक बन्न थालेको हो ।

समुन्द्री सतहबाट २२ सय मिटर उचाईमा रहेको मालिका लेक धार्मिक तथा ऐतिहासीक सम्पदा सँग पनि जोडिएको छ । स्थानीयहरुका अनुसार मालिकामा पहिले एउटा पोखरी ‘दह’ थियो । जुन दहमा बच्चाहरुले पौडी खेल्न जाँदा एउटा बच्चा डुबेर मरेपछि दह पुरिएको किंवदन्ती छ ।

त्यस्तै यहाँ शताब्दी औं अघिका मन्दिरका अवशेषहरु पनि भेटिएको स्थानीयहरु बताउछन् । जुन मन्दिरमा बाईसे चौबीसे राज्यका दर्माली राजा, बडागाउँले राजा र जाजरकोटी राजाहरुले पुजापाठ गरेको किंवदन्ती छ ।

राणा शासनका तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले मन्दिरमा दिएको घण्टको अवशेष पनि यहाँ केहि समय पहिले भेटिएको मालिका पर्यटकीय प्रवद्र्धन पूर्वाधार विकास समितीका उपाध्यक्ष वुद्धि थापाले लेकाली अनलाइनलाई बताए । त्यहि पौराणिकताको आधारमा अहिले यहाँ एउटा नयाँ मन्दिर समेत बनाइएको छ ।

भ्यू टावार, चिडियाखाना र पार्कको लागि डिपीआर

मालिका लेकमा पर्यटक प्रवद्र्धनको लागी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाइएको छ । सल्यान, रुकुम, जाजरकोट, दैलेख, सुर्खेत, रोल्पा, बाग्लुङ सहितका विभिन्न जिल्लाहरुका दृश्य देख्न सकिने मालिकालाई पर्यटकीय ठाउँ बनाउन लागिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी ‘अरुण’ले बताए ।

उनका अनुसार यहाँ दृश्य अवलोकनको लागि भ्यू टावर, चिडियाखाना, पिक्नीक स्पोर्ट लगाएतको डिपीआर गरिएको छ । विभिन्न प्रजातिका बोटविरुवा सँगै अपाङग मैत्री पदमार्ग पनि बनाइने अध्यक्ष केसीले बताए । यसैबर्ष मात्रै यहाँ खानेपानी र विद्युत सेवा विस्तार गरिने उनको भनाई छ ।

यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनको लागि अहिलेसम्म पर्यटन मन्त्रालयबाट १० लाख, दार्मा गाउँपालिकाबाट १० लाख र कुमाख गाउँपालिकाबाट २ लाख गरी २२ लाख बजेट खर्च गरिएको छ । जसबाट एउटा मन्दिर, प्रतिक्षालय र डिपीआर बनाइएको छ ।

पत्रकारहरुको बैठक मालिकामा

यसैबीच सम्पुर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ सल्यान शाखाको पुर्ण बैठक बिहीबार मालिका लेकमा सम्पन्न भएको छ । मालिका लेकको पर्यटक प्रवद्र्धनको लागी पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बैठक बसेको हो ।

जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय ठाउँको समेत प्रचार गर्ने निर्णय गरेको छ । पर्यटन वर्ष २०२० लाई सफल पार्न पत्रकार महासंघको टोली सल्यान जिल्लाको सबै पर्यटकीय क्षेत्रमा पुग्ने सचिव शंकर केसीले बताए ।

बिहीबार नै मालिका लेकमा ‘पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । दार्मा गाउँपालिकाको सहयोग र मालिका पर्यटन प्रवद्र्धन पूर्वाधार समितीको आयोजनामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा बनगाड कुपिण्डेका नगरप्रमुख गोविन्द पुन, बागचौर नगरप्रमुख लोकमान बुढाथोकी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी लगाएतको सहभागीता रहेको थियो ।