प्रचण्ड, महरा र शंकर पोखरेलको निर्वाचन क्षेत्रमा कांग्रेस विजयी

मंसिर १५, दाङ । सत्ताधारी नेकपाका तीन प्रभावशाली नेताहरुको वडामा काँग्रेसका उम्मेदवारले जित हाँसिल गरेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मत अन्तरले विजयी भएका छन् ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् । ३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् ।

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन् । ६८ मत बदर भएको छ ।

त्यस्तै नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब बहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।