कर्मचारीले नेताको दिमाग खराब गरे : प्रचण्ड

मंसिर २०, धनगढी । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजामति कर्मचारीप्रति आक्रोशित भएका छन् । कैलालीको धनगडीमा शुक्रबार सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजामति कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेको आरोप लगाए ।

निजामति कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको आरोप लगाएका उनले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएको टिप्पणी पनि गरे । मुलुक संघीयतामा गएसँगै घर घरमा जनतालाई पुर्‍याउने राजनीतिक उद्देश्य हुने भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको प्रचण्डले आरोप लगाए ।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन् । उनले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी भएको बताए ।

अध्यक्ष दाहालले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको आरोपसमेत लगाए । उनले देशभित्रकै लगानीकर्ताहरुलाई आकर्षित गर्न सुरक्षा र नाफाको प्रत्याभूति दिन सरकार तयार रहनुपर्ने बताए ।

सुदूरपश्चिमका गौरवका आयोजनाहरूलाई गति दिइने बताउँदै उनले भने, ‘सुदूरपश्चिमका गौरवका आयोजनाहरू रोकिनु हुँदैन, रोकिँदैनन् र रोक्न पनि दिँदैनौ ।’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जारी वित्तीय सम्मेलनले सबै स्थानीय तहहरुलाई समेटेर अगाडि बढ्न शुभकामना दिए ।