सल्यान प्रवेश द्धार सिमानाभन्दा ४ किलोमिटर माथी बनाइयो

मंसिर २१, सल्यान । स्थानीय तह, जिल्ला, प्रदेश तथा देशको प्रवेशद्धार सिमानामा हुन्छ । तर सल्यानमा भने सिमानादेखि ४ किलोमिटर पछाडी प्रवेशद्धार बनाइएको छ ।

सल्यान र दाङको सिमानामा पर्ने राप्ती राजमार्ग अन्तरगत चोरखोलाबाट ४ किलोमिटर माथी कपुरकोट बजारमा कर्णाली प्रदेश, सल्यान जिल्ला र कपुरकोट गाउँपालिकाको स्वागत द्धार बनाइएको हो । शनिबार स्वागत द्वारको उद्घाटन एक कार्यक्रमका बीच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

तत्कालिन समयमा संबिधान सभा सदस्य रहदा सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको ६ लाख र कर्णाली सरकारको १० लाख रुपैयाँ गरि जम्मा १६ लाख रुपैयाँको लागतमा स्वागत गेट निर्माण भएको हो ।

कसरी बनाइयो ४ किलोमिटर माथी प्रवेश द्धार

सल्यान प्रदेशद्धार बनाउने भनेर करिब ३/४ वर्ष पहिलादेखि नै चर्चा चलेको थियो । चर्चाकै बीचमा सल्यानका केहि युवाहरुले सल्यान प्रवेश द्धार गेट आर्थिक सहयोग उठाएरै भएपनि बनाउछौँ भनेर कसिए । जसको लिड धुर्वराज ओलीले गरेका थिए ।

दाङ र सल्यानको सिमानामा बनाउने भनेर उनिहरुले केहि आर्थिक सहयोग समेत उठाए भने झण्डै ९ लाख सहयोग गर्ने थुप्रैको प्रतिबद्धता थियो । त्यतीकैमा तत्कालिन समयका सल्यान क्षेत्र नम्बर २ का सांसद प्रकाश ज्वालाले युवाहरुसँग सहकार्य गरेर गेट बनाउन सांसद विकास कोषबाट बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए ।

धुर्वराज ओलीका अनुसार युवाहरुले सिमानामा गेट बनाउने भनिरहदा सांसद विकास कोषको गेट कपुरकोटतिर मोडियो । युवाहरु पनि सिमानामै बनाउने भनेर सडक फराकिलो बनाउन लागे । सांसद विकास कोषको गेट भने कपुरकोटमा बनाउन लागियो । मन्त्री ज्वाला र युवाहरुले एउटा गेट बनाउने कुरा टुटेर दुइवटा गेट बनाउने काम भयाे ।

सिमानको गेट रोकियो

युवाहरुले सिमानामा गेट बनाउने भनेर सडक डिभिजन कार्यालय दाङबाट सडक खन्ने अनुमती ल्याइ डोजर बोलाए प्रहरीले बोर्ड राखेको दाङ–सल्यानको सिमानभन्दा दुइसय मिटर अगाडी सल्यानतिरकै भागमा काम सुरु गरेका थिए । तर काम भएकाे दुई तीन दिनमा कपुरकोटतर्फबाट केहि युवाहरु आएर काम रोक्न भने ।

धुर्वराज ओली भन्छन्, ‘हामीले पहिला तुलसीपुरका मेयर र कपुरकोट गाउँपालिकाका अध्यक्ष सँग कुरा गरेका हौँ । उहाँहरुले काम सुरु गर्नुहोस् भन्नु भयो । त्यहि आधारमा काम पनि सुरु भयो, सिमाना विवाद हाेला भनेर हामीले सिमानाभन्दा दुइसय मिटर अगाडी सल्यानतिरकै भागमा काम गरेका थियाैँ तर यहाँ सिमानाको विवाद छ भन्दै ती युवाहरू आई डोजर आगजनी गर्दिने धम्की दिएर काम छोड्न लगाए ।’

उनले भने, ‘पछि हामी तुलसीपुरका मेयर, कपुरकोटका अध्यक्ष लगाएत धेरैलाई सिमानाको विवाद टुंगो लगाइदिनुहोस् भनेर धेरैपटक भनिरयौँ । उहाँहरुले हुन्छ मात्रै भन्नुभयो, काम गर्दिनुभएन् । हाम्रो केहि लागेन्, त्यसैले हामी ब्याक हुन पुगिम । पछि कुरो बुझ्दा गेटमा पनि राजनीति भएको देखियो ।’

सिमाना विवादको चपेटामा स्थानीय

दाङ र सल्यानको सिमानामा जंगल र पानीका मुहानहरु छन् । जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला प्रहरी कार्यालय दाङले चोरखोलामा राखेका सिमाना बोर्डलाई अहिले सिमानाको आधार मानिन्छ ।

तर त्यहाँका स्थानीयहरु भने त्यो मान्न तयार छैनन् । सल्यानका स्थानीयहरु उक्त बोर्डदेखि २ सय मिटर तलको डाँडोलाई सिमाना दाबी गर्छन् भने दाङका स्थानीयहरु सो बोर्डको ५ सय मिटर माथीको अर्को खोलालाई सिमाना दाबी गर्छन् ।

यही विवादले गर्दा यहाँका दुई जिल्लाका नागरिकहरुको सधै झगडा हुने गर्दछ । जंगलमा घाँसदाउरा आएका दाङकालाई सल्यानले र सल्यानकालाई दाङका नागरिकहरुले डोका नाम्लाहरु जफत गर्ने गरेको उनिहरु बताउछन् । सरकारी तहबाट सिमाना विवाद टुंगो नलगाइदिनुु नै यहाँका नागरिकको लागि विष बनेको छ ।