ट्रकले बालिकालाइ ठक्कर दिएपछि काेहलपुरमा तनावग्रस्त

मंसिर २१, बाँके । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । (यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।)

आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा एउटा ट्रकले स्कुले बालिकालाइ ठक्कर दिएपछि अहिले त्यहाँ सडक चक्काजाम सँगै प्रहरी र विद्यार्थीबीच झडप भएकाे छ ।

स्कुले बालिकाको खुट्टा भाँचिएकाे छ । विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको त्यहाँ पुगेका सल्यान छत्रेश्वरी -१ का वडा सदस्य प्रकाश हमालले लेकाली अनलाइनलाइ बताए ।

विद्यार्थीहरूले सडक बन्द सँगै नाराबाजी गरेका छन् भने प्रहरीले राेक्न खाेजिरहेकाे छ । आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान समेत भएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

तस्बिर प्रकाश हमाल