भिम रावलप्रति प्रधानमन्त्रीकाे टिप्पनीः ‘पार्टी भित्र नयाँ-नयाँ कवि जन्मिए’

पुस १२, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सफलतामा आफ्नै नेताहरु विरोधमा उत्रिएका बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालले बालुवाटारमा राखेको राष्ट्रिय सम्मेलन तथा शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेताहरुलाई कुण्ठा नपोख्न आग्रह गरे ।

“पार्टीको नेता भएर पार्टी नेतृत्वको सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्न सक्दैन”, प्रधानमन्त्री ओलीले भने । राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी हितकै लागि सहमति भएको उनले बताए । “राम्रो काम गर्दा विरोधले विरोध गर्थे” प्रधानमन्त्रीको भनाइ थियो, “अब आफ्नैले पनि विरोध गरे ।”

केही दिन अगाडि सकिएको स्थायी कमिटी बैठकमा नेता भीम रावलको अभिव्यक्ति प्रति प्रधानमन्त्री आक्रोशित देखिएका थिए । प्रधानमन्त्री ओलीले रावलप्रति लक्षित गर्दै पार्टीमा नयाँ–नयाँ कवि जन्मिएको बताए । पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु कमजोरीमा मात्रै बोलेको प्रधानमन्त्रीको भनाइ थियो ।

देश सही नीतिका आधारमा चलिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्रीले आफुसँग ७० वर्षको अनुभव भएकाले देश कुनै हालतमा डुब्न नदिने बताए ।