गौतमबुद्ध क्रिकेट रंगशालाका लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख सहयोग

पुस २१, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुस सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोमबार चितवनमा पुगेर हेटाैंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्माणाधीन रंगशाला हेरेपछि रंगशाला निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । धुर्मुस सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुन लागेकोले स्थानीय सरकारको हैसियत हेटौंडाको तर्फबाट सहयोग गर्न लागिएको प्रमुख महतले बताए।

रंगशाला निर्माण हुँदा हेटौंडाले पनि फाइदा पुग्ने भएकाले सहयोग गर्न लागिएको उनको भनाई छ। उनले हेटौंडासहित देशैभरिका स्थानीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए।  प्रमुख महतले केही दिनमा नै घोषणा गरिएको रकम हस्तान्तरण गर्ने बताएका छन्।

३० लाख सहयोग घोषणा पछि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले थप हौसला मिलेको जनाएका छन्।