राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे आज जन्मजयन्ती

पुस २७, काठमाण्डाै । आज पुस २७ अर्थात नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मयन्ती । आजकै दिन राष्ट्रिय एकता दिवस पनि विभिन्न कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चाैबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।

पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा हार भोग्नुपरेकाे थियाे । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनी पराजित भएका थिए । उनी विसं १८०१ मा नुवाकोटमा विजयी भए ।

यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।

शाहले ‘व्रतरत्न माला’ नामक कृति समेत लेखेका छन् । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएका छन् । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकाेमा अहिले कटौती गरिएकाे छ । तर याे अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।

यसबीचमा नेपाल सरकारले सार्वजनिक बिदा नदिएपनि केहि स्थानीय तहले  सार्वजनिक विदा दिएका छन् । सल्यान शारदा नगरपालिकाले पनि सार्वजनिक बिदा दिएकाे छ ।