सल्यानका यी ३९ दुर्गम ठाउँमा अबदेखि प्रहरीले नियमित गस्ती गर्ने

पुस २९, सल्यान । सल्यानका ३९ दुर्गम स्थानमा प्रहरीले नियमित गस्ती अभियान सञ्चाल तथा विस्तार सुरु गरेकाे छ । दुरदराजमा हुने कुनैपनि नराम्राे क्रियाकलाप राेक्न र जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै प्रहरीले गस्ती अभियान थालेको जनाएकाे छ ।

कुनै घटना तथा कार्यक्रम बाहेक दुरदराजमा प्रहरीको पहुँच पुग्न नसकेको भन्दै जनताको शान्ति सुरक्षा तथा अमनकायम गर्न गस्ती अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए ।

गस्तीका लागि प्रहरीको पहुँच नपुगेका भनिएका जिल्लाका ३९ स्थान छनौट समेत गरिएको छ । त्यस्ता अन्य बाँकी ठाउँ फेला परेमा पनि गस्ती अभियान विस्तार गरिने उनले बताए । जसमा सबैभन्दा धेरै कालिमाटी गाउँपालिकाका १० वटा स्थान रहेका छन् ।

प्रहरीले गस्ती गर्ने दुरदराजका स्थानहरू

  • कालिमाटी गाउँपालिकाकाे (धाम नयाबन, कालिमाटी, किमिरे, काफ्लनेटी, जलजला, छरछरे, जुमखाेला, लक्ष्मिपुर पाेखरा, हात्तीदमार र चाेत्रे)
  • छत्रेश्वरी गाउँपालिकाकाे (बुँरासे झ्याम, चाेरपानी, महानेटा, चाेरपानी, तुसारे र खर्सुबास)
  • बनगाड कुपिण्डे नगरपालिकाकाे (गर्चे, अवलबेशी, मैदु र निगालचुला द्रुङबस्ती)
  • दार्मा गाउँपालिकाकाे (ढाकाडम, दार्माकाेट, तकमारा र चम्फाटाकुरा)
  • कपुरकाेट गाउँपालिकाकाे (कालापातल, सिमलकुन, जामुने र डाँग्री)
  • सिद्ध कुमाख गाउँपालिकाकाे (चिनाली, छापडाँडा र भडारे)
  • त्रिवेणी गाउँपालिकाकाे (गाेगने ओखला र चाेरखाेला)
  • बागचाैर नगरपालिका (बाफुखाेला र पानचाैर)
  • कुमाख गाउँपालिकाकाे (गुरुदासे र डुङकाेट)
  • शारदा नगरपालिकाकाे (स्यानीखाल र पैयाखर्क)

प्ररहीकाे चाैकीबाट २ घण्टादेखि ८ सम्मको पैदल दुरीमा पर्ने स्थानलाई प्रहरीले दुरदराजको स्थान भनेर वर्गीकरण गरेको छ । प्रहरीकाे सक्रियता देखाउनकाे लागि हप्तामा एकपटक तोकिएका स्थानमा अनिवार्य प्रहरी पुग्नुका साथै स्थानीय र जनप्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया गर्नैपर्ने प्रहरी प्रमुख खतिवडाले बताए ।

नजिकैका दुई प्रहरी पोष्टबाट तोकिएको स्थानमा पुगेर स्थानीयसँग छलफल, अन्तरक्रिया गरी फोटो खिचेर आउनु पर्नेछ ।  प्रहरीको पहुँच नभएको भन्दै अपराध गर्ने व्यक्तिहरु लुक्नसक्ने भएकाले पनि त्यस्ता स्थानमा सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डिएसपी खतिवडाले भने, ‘शहर बजारमा प्रहरीको पहुँच राम्रो रहेको छ तर दुरदराजमा हाम्रो उपस्थिति निकै कम भयो त्यसकारण अभियान सञ्चालन गरेका छौं।’