श्रीनगर बसपार्क : गरिबका झुपडीहरू भत्काउने मात्रै हाे कि बनाइदिने पनि हाे ?

पुस २९, सल्यान । दिगो विकास लक्ष्यको मुल मर्म भनेको “Leave No One Behind” अर्थात “विकासको प्रकृयामा कसैलाई पछि नछाडौं” हो । र दिगो विकासको ११ औं नम्बरको लक्ष्यले “पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडी वस्तीहरूको स्तरोन्नति गर्ने” भन्छ ।

तर सल्यानको शारदा नगरपालिकाले जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा आधुनीक बसपार्क बनाउने भन्दै झुपडी बस्तीहरु भत्काउने भनेर पुस २४ गतेको निर्णयअनुसार १५ दिने अल्टिमेटम दिएको छ । बसपार्कको डिपीआर भएको ऐलानी जग्गाका मात्रै घर टहराहरु भत्काउने नगरपालिकाको भनाई छ ।

माथी उल्लेखित दिगो विकासका बुँदालाई हेर्दा ‘झुपडी बस्तीको स्तरोन्नति गर्नुपर्छ’ भन्ने छ । तर शारदा नगरपालिकाले बसपार्कका झुपडी बस्ती उजाड गरेपछि अनेन्त्र स्थान्तरण गर्ने कुनै ठोस कार्ययोजना बनाएको देखिदैन् । यद्धेवी नगरप्रमुख सुरेश अधिकारीले बसपार्क बनिसकेपछि मात्रै घरबार नहुँनेलाई नगरपालिकाले भाडा लिएर अनेन्त्र घर बनाइदिने दाबी गरेका छन् । यो काम होला या नहोला त्यो भने समयले देखाउने छ ।

बसपार्कको खास कुरो के हो

श्रीनगरको बसपार्क पहिले वर्षायाममा खोलो उर्लिदा भेलले बगाएको बगरको रुपमा थियो । २०५३/०५४ पछि उक्त क्षेत्रमा विस्तारै मानिसहरु टहरा बनाएर बस्न थाले । यो क्षेत्र सबै एलानी जग्गा हो । यहाँको ८० रोपनी बढी एलानी जग्गामा मानिसहरु घर टहरा बनाएर बसोबास गर्दछन् ।

२०५४ मा तत्कालिन माओवादीबाट विस्तापित भएपछि कुमाख गाउँपालिका निवासी धन बहादुर बुढा मगर श्रीनगरको त्यही ऐलानी जग्गामा आएर सानो झुपडी बनाई बसोबास गरे ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनि भन्छन्, ‘जीवन गुजार्नलाई निकै कठोर थियो । अरुको काम गरेर बालबच्चा पालियो । थोर थोरै रकम जम्मा गरेर सानो घर पनि बनाइम । अहिले त्यही घर भत्काइदिने भनेको सुन्दा आकाशबाट खसेजस्तो भयो ।’

त्यस्तै पिडा छ घरबार नभएर जिमालीबाट आएकी सिता विकको । दलित परिवारमा जन्मीएका उनिहरु जिमालीमा हुँदा अर्काको मजदुरी गरेर दैनिकी चलाउथे । आर्थिककै कारण जिमालीमा बस्न सक्ने अवस्था नभएपछि १० वर्ष अघि उनिहरु यहि ऐलानी जग्गामा आई सानो झुपडी बनाएर बसेको बताउछिन् ।

अहिले श्रीमान सँगै उनले आरन पेसा गरेर दैनिकी गुजारीरहेको बताइन् । बर्षातमा पानी चुहिने र जाडोमा हावा छिर्ने एउटै कोठाको टिनले ढाकेको घर छ उनिहरुको । लेकाली अनलाइनसँग कुरा गर्दै सिताले भनिन्, ‘अहिले बालबच्चा संग छौँ, अन्त कतै सम्पती छैन् । नगरपालिकाले घर भत्काइदिन्छौँ भन्छ कहाँ जाने थाहा छैन् ।’

यी त बसपार्कका एकदुईवटा उदाहरण मात्रै हुन् । यहाँ दर्जनौं बढी गरिबहरुका टहरा र घरहरु छन् । जसको अनेन्त्र कतैपनि सम्पती छैन् ।

सुकुम्बासीको नाममा धनीको राज

वसपार्क क्षेत्रको ऐलानी जग्गामा सुकुम्बासी भन्दै धेरैले ठुला घरहरु समेत बनाएका छन् । स्थानीयका अनुसार उनिहरुले २०६५/०६६ यता घरहरु बनाउन लागेका हुन् । श्रीनगर सहित आसपासका व्यापारीहरुले ऐलानी जग्गा कब्जा गर्दै घर बनाएको स्थानीयको भनाई छ । यहाँका घरहरु हेर्दा बसपार्क नजिक सोझा गरिबहरुका घर देखिन्छन् भने बजार क्षेत्रको ऐलानीमा धनिहरुका घर देखिन्छन् ।

ठुला घर नभत्काएर साना घर भत्काए रगतको खोलो बग्छ : सुकुम्बासी

बसपार्कमा घर टहरा बनाएर बस्ने सुकुम्बासीहरुले धनीहरुका ठुला घर नभत्काएर गरिबका साना घरहरु मात्रै भत्काए आफुहरुले बलिदान दिने चेतावनी दिएका छन् । आफुहरु विकासको विरोधी नभएको भन्दै उनिहरुले घर भत्काए सबैका भत्काउनुपर्ने बताएका छन् । साना घरहरु मात्रै भत्काए आफुहरुले आन्दोलन गर्ने र प्रहरी प्रशासनले हस्तक्षेप गरे रक्तपात हुने स्थानीय दिपेन्द्र खड्काले बताए ।

त्यस्तै नगरपालिकाले तत्काल यो जाडोमा घर भत्काए आफुहरु बीच सडकमा गएर सुत्ने अर्का सुकुम्बासी कृष्णा बुढाथोकीले बताइन् । उनले प्रश्न गरिन् ।, “उनिहरु मात्रै मान्छे हुन ? के हामीहरु मान्छे हैनौं ? हामीहरुलाई बस्न घर चाहिदैन् ?’ गाँस बासको ग्यारेन्टी गरेपछि मात्रै आफुहरुले बस्ती छोड्ने उनले बताइन् ।

बसपार्कको डिपीआर भएको क्षेत्रको मात्रै भत्काउछौं : नगरप्रमुख

शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले आधुनीक बसपार्कको लागि डिपीआर भएको क्षेत्रका घरहरु मात्रै भत्काउने बताएका छन् । उनले डिपीआर भैसकेको र जग्गा खालि भए सहरी विकास मन्त्रालयबाट ४२ करोड बढीको बजेट आउने र बसपार्क बन्ने बताए ।

सार्वजनिक जग्गा कसैले पनि हस्तक्षेप गर्न नपाउने भन्दै उनले स्थानीय सरकारलाई चाहिएको जग्गा खलि गर्ने अधिकार भएको बताए । अन्य बाँकी ऐलानी जग्गाको सवालमा प्रशासनले नै काम गर्ने उनको तर्क थियो । उनको भनाईलाई हेर्ने हो भने बसपार्क नजिकका झुपडी घरहरु भत्काइने र अन्य ठुला घरहरु नभत्कीने देखिन्छ ।

नगरप्रमुख सुरेश अधिकारीले लेकाली अनलाइनलाई दिएको संक्षिप्त अन्तरवार्त 

तपाईले बसपार्कका घरहरु भत्काउने नगरपालिकाको निर्णय भनेपनि उपमेयर लगाएतका केहि वडा अध्यक्षले असहमत जनाउनु भएको छ, तपाईहरुको भित्री कुरा किन मिलेन ?

उहाँहरुले अहिले के–के भन्नुहुन्छ त्यो उहाँहरुको व्यक्तीगत कुरा हो, तर कार्यपालिका बैठकमा उहाँहरु पनि समावेश हुनुहुन्थ्यो, अहिले व्यक्तीले के कहाँ बोल्छन् त्यसको पछि हामी लाग्दैनौँ ।

तपाईले घर भत्काउछु भनेपनि तपाईकै पार्टी भित्रका केहि मान्छेहरुका त्यहाँ घर छन् । घर नभत्काउन भनेर पार्टी भित्रबाट दबाब आउला सामना गर्न सक्नुहुन्छ ?

म हिजो चुनावमा जाँदा नेपाली काँग्रेसबाट निर्वाचित भएको हुँ । तर अहिले म सबैको साझा नगरप्रमुख हुँ । अब पार्टी विषेश भन्दा पनि साझाको कुरा हुन्छ, कसको पार्टीका घर छन् भनेर म चिन्दीन् ।

अनि तपाईले चुनावका बेलामा भोट माग्दा त्यहाँका जनतालाई लालपुर्जा दिन्छौँ, भन्नु भएको रहेछ तर अहिले चुनाव जितेपछि तिनै जनताको ढाड सेक्ने ?

मैले लालुर्जा दिन्छु भनेको हैन् । उहाँहरुलाई अनेन्त्र स्थापित गर्दछु भनेको हुँ । हामी उहाँहरुलाई व्यवस्थित गर्छाैं । त्यसको लागि लागत पनि राखेका छौँ ।

तर मेयर साव पहिल्यै घर भत्काएर बसपार्क बनाउनुभन्दा उनिहरुलाई स्थापित गरेर घर भत्काउदा हुँदैन् ?

अहिल्यै उहाँहरुलाई दिने जग्गा छैन् । बसपार्क बनाएर उहाँहरुलाई व्यवस्थित गर्ने हो ।

अनि त्यो ऐलानी जग्गामा तपाईकै स्वरुम छ भनेर बाहिर हल्ला चल्छ खास कुरा के हो ?

त्यो हल्ला मात्रै हो । त्यहाँ मेरो उद्योग छैन् ।

त्यसोभए मेयर जस्तो मान्छे नबुझेरै किन ऐलानी जग्गाको स्वरुमको उद्घाटन गर्नु जानुभएको ?

म उद्घाटन गर्न गएको हैन् । साथीहरुले कार्यक्रम छ भनेर बोलाउनु भएको हो । त्यसको लागि गएको हुँ ।

तपाईले घर भत्काउछु भनेपनि त्यहाँका जनताले तत्काल घर भत्काए रगतको खोला बगाउछौँ भन्छन् । यसलाई कसरी लिनुहुन्छ ?

हामी जनताको विरोधी हैनौं, जनतालाई साथमै लिन्छौँ । घटना नघटाउन हामी प्रहरी प्रशासन पनि लिन्छौँ ।

एक्कासी घर भत्काउने १५ दिनको अल्टिमेटम छोटो भएनर ?

यो हाम्रो अहिलेको निर्णय हो । हामी अझै जनतासँग छलफल गरेर समय थप गरी पनि अगाडी बढ्छौँ

समयको लागि धन्यवाद ।

तपाईलाई पनि धन्यवाद  ।