ललितानिवास प्रकरणमा चारपूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

माघ २३, काठमाडौं । अख्तियार दुरूपायोग अनुसन्धान आयोगले बालुवाटारको ललितानिवास प्रकरणमा चारपूर्व मन्त्री र आफ्नै पूर्वप्रमुखसहित १७५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । लामो समयको अनुसन्धानपछि अख्तियारले बुधबार चार पूर्वमन्त्री, तीनपूर्वसचिवसहित भू–माफिया किटान गरिएका दुई र सबै मोहीलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीनरूपमा भौतिक योजना मन्त्रालय सम्हालेका विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, सो मन्त्रालयका तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त र दिनेश अधिकारीमाथि मुद्दा चलाएको छ । पन्त खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री भएका थिए । बस्न्यात भने अख्तियारका पूर्वप्रमुख आयुक्तसमेत हुन् । अख्तियारले बस्न्यात, गच्छदार, श्रेष्ठ र पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ ।

त्यस्तै अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री जोशीमाथि पनि ७ करोड ८ लाख विगो मागदाबी गरिएको छ । अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन् । ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरू हुन् । यसैगरी सरकारी छानबिन समितिले मुमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित भाटभटेनीका संचालक मिनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

भू–माफियाविरुद्ध करोडौं मागदाबी

जग्गा प्रकरणमा सबैभन्दा बढी बिगो भू–माफिया रामकुमार सुवेदीलाई तोकिएको छ । अख्तियारले उनीविरुद्ध ५२ करोड ५१ लाख ४० हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो । सुवेदीपछि धेरै बिगो मागदाबी भू–माफिया शोभाकान्त ढकाल र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट गरिएको छ । दुवैबाट जनही ३९ करोड २७ लाख ६८ हजार बिगो मागदाबी गरिएको छ ।

उनीहरूलाई राष्ट्रसेवक कर्मचारीलाई समेत अनुचित प्रभावमा पारेर ललिता निवासभित्रको सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा दिने÷दिलाउने, सरकारी जग्गा व्यक्ति विशेषका नाममा हालसाविक गर्ने÷गराउने, सार्वजनिक जग्गामा कृत्रिम रूपमा अनाधिकृत व्यक्तिलाई मोही खडा गर्ने÷गराउने, बालुवाटारभित्रको विशिष्ठ व्यक्ति निवासभित्रको जग्गा व्यक्तिका नाममा गर्ने÷गराउनेलगायतका आरोप लगाइएको छ ।
उनीहरू यस्ता काममा आफैँ प्रत्यक्ष संलग्न भएको पाइएको उल्लेख गर्दै बदनियतपूर्वक ललिता निवास क्याम्पभित्रको अधिकांश जग्गा आफ्नो, परिवारको र आफौ संलग्न कम्पनीको नाममा गरेर लाभ लिइएको आरोप पत्रमा उल्लेख गरिएको छ । उनीहरूले गैरकानुनी लाभ लिनुका साथै नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएका कारण उक्त बिगो भराउने निर्णयसहित भ्रष्टाचारी करार गर्न माग गरिएको छ । यो कसुर प्रमाणित भएमा २ वर्षसम्म जेल वा विगो बराबरको जरिवाना गरी बिगोसमेत भराइनेछ ।