बास्कोटा प्रकरणबारे नेकपा सचिवालय बैठकमा के भयो ?

फागुन १०, काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न बसेको सत्तारुढ दल नेकपाकाे बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो सार्वजनिक भएपछि सिर्जित परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कमिसन र अनियमितताका विषयमा सम्बन्धित निकायलाई स्वतन्त्ररुपमा छानबिन गर्न दिने प्रतिबद्धता जनाएको नेताहरुले बताएका छन्  ।करिब दुई घन्टासम्म चलेको बैठकमा ‘एसीसी’का बारेमा अध्ययन गरी नेकपा कार्यदलले बुझाएको प्रतिवेदका विषयमा पनि छलफल भएको थियो ।

एमसीसी परिमार्जनपछिमात्रै अनुमोदन गर्ने पक्षमा अधिकांश नेताको एकमत देखिएपनि यस विषयमा थप छलफल रहेको नेकपाले प्रष्ट पारेको छ । बैठकमा मुख्यगरी एमसीसीलाई कसरी अगाडि बढाउने र बाँस्कोटाको राजीनामासँगै जोडिएर आएका प्रश्नको निरुपण कसरी गर्ने भन्ने विषयमा छलफल भएपनि निश्कर्षमा नपुगेको भन्दै अधिकांश नेता कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए ।

शनिबारको बैठकमा सञ्चार र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा पनि नेकपा नेतृत्वले प्रारम्भिक छलफल गरेको छ । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ समेत गरेका थिए ।

कार्यदलले सर्वसम्मत रुपमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएको छ । यसका लागि आवश्यक परे अमेरिका सरकारसँग समेत कुराकानी गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाकाअनुसार यसबारे नेकपा सचिवालयको आगामी बैठकमा थप छलफल हुनेछ ।