‘राजेश हमाल आउछन्’ भनेर सल्यान महाेत्सवमा हजाराैं दर्शकलाई ठगेपछि…

फागुन १४, सल्यान । सल्यानमा संचालन प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिक महोत्सवको अन्तिम दिन मंगलबार १० हजारभन्दा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । महोत्सवको मुख्य आयोजक सल्यान उद्योग वाणिज्य संघले मंगलबार महानायक राजेश हमाल आउने भनेर व्यापक प्रचार गरेपछि  हजारौं दर्शकहरु महोत्सव हेर्न आएका हुन् ।

राजेश हमाललाई हेर्ने भनेर अप्राहन्न ४ बजेसम्म कार्यक्रम स्थल भित्र कुरेर बसेका दर्शकहरु एकाएक उठेर गए । कारण थियोे कार्यक्रम संचालकले राजेश हमाल आउन नसकेको जानकारी दिएपछि । ४ बजेसम्म पनि कार्यक्रममा राजेश हमाल आउछन् भन्दै टिकट बिक्री गरेर दर्शकहरूलाइ कार्यक्रम स्थल भित्र पठाइएकाे थियाे ।

यसरी कार्यक्रम छोडेर जाने दर्शकहरूले आयोजकले आफुहरुलाई झुक्याउन सम्म झुक्याएको बताए । बागचौर नगरपालिका ९ बाट महोत्सव हेर्न आएका प्रताप ओलीले लेकाली अनलाइनसँग कुरा गर्दै भने, “घरबाट ३ सय रुपैयाँ गाडी भाडा तिरेर राजेश हमाललाई हेर्ने भनेर आइयो, महोत्सवमा प्रवेश गर्न सय रुपैयाँको टिकट समेत काटियाे तर अन्तिममा आएर आयोजकले हामीलाई उल्लु बनाउनुसम्म बनायो ।”

यसरी अन्तिम दिनमा दर्शकहरूलाइ ढाँटेर आयोजकले ठगी धन्दा अपनाएकाे महाेत्सव हेर्न आएका सहभागीहरूले बताएका छन् । महाेत्सव ठेक्कामा दिएकाे र एकलाैटी ढंगले चलाएकाे भन्दै आज बिहान मात्रै सल्यान उद्याेग वाणिज्य संघका कार्यसमिती भित्रै पनि ठुलाे विवाद भएकाे स्राेतले लेकाली अनलाइनलाइ बतायाे ।

मौसमको प्रतिकुलताका कारण राजेश हमाल काठमाडौंबाट आउन नसकेको संचालकले कार्यक्रमको स्टेजबाट उद्घोष गरेपनि आयोजकले राजेश हमाल महोत्सवको लागि हिजो राति नै सल्यान आएको जानकारी दिएको थियो । कार्यक्रमको अन्तिम समयसम्म पनि राजेश हमाल श्रीनगरमा पाइला टेकिसकेको र टिकट काटेर भित्र छिर्न दर्शकहरूलाई स्टेजबाट आग्रह गरिएको थियोे ।

महोत्सवका आवास उपसमितिका संयोजक तथा सल्यान उद्योग वाणिज्य संघका सदस्य विकास डिसीले पनि सोमबार राति १० बजे ४० मिनेटमा राजेश हमाल  श्रीनगरको युनाइटेड होटलमा आइसकेको भनेर फेसबुकमा जानकारी गराएका थिए । तर उक्त स्टाटस उनले अहिले डिलिट समेत गरेका छन् ।