सल्यान श्रीनगरमा संचालित महाेत्सवकाे समापन गरियाे

फागुन १३, सल्यान । गएकाे माघ २९ गतेदेखि सल्यानकाे श्रीनगरमा संचालन भएकाे प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ काे मंगलबार फागुन १३ गते समापन गरिएकाे छ । यसअघि फागुन ११ गते समापन गर्ने भनिएपनि माैसममा आएकाे प्रतिकुलताकाे कारण दुइदिन थप गरेर महाेत्सव १३ गतेसम्म महाेत्सव संचालन गरिएकाे हाे ।

सल्यान उद्योग वाणिज्य संघकाे मुख्य आयाेजनामा भएकाे महाेत्सवमा १४ दिनसम्म ८५ हजार दर्शकले अवलाेकन गरेकाे आयाेजकले दाबी गरेकाे छ ।महोत्सव अवधिभर ३ करोड ५० लाखको कारोबार भएको सल्यान उद्याेग वाणिज्य संघका अध्यक्ष बीर बहादुर चलाउनेले बताए ।

महाेत्सवकाे समापन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले गरेका हुन् । समापन समारोहमा लोक गीत प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिनुका साथै महोत्सव सफल बनाउन साथ दिने सुरक्षाकर्मि, पत्रकार लगायतका लाई प्रसंशा पत्र र कदर पत्र प्रदान गरिएको थियो । महोत्सवको माघ २९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले गरेका थिए।