बुटवलमा कोराना आशंका गरिएका बिरामीको रिर्पोट यस्तो आयो 


चैत २, बुटवल । कोराना भाइरसको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत एक जना बिरामीको रिर्पोट नेगेटिभ देखिएको छ।

तीन दिनअघि कोराना भाइरसको लक्षण देखिएपछि अस्पतालले जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो। गुल्मी घर भई हाल कोरियन इन्स्च्यिुटका विद्यार्थी २१ वर्षिय युवाको कोराना नभएको रिर्पोट आइतबार बेलुका पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

आइसोलेशनमा राखेर उपचारत ती बिरामीलाई अब अन्य बेडमा राखेर उपचार गरिने छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कोराना आशंकामा बिरामी राखिएको खबर सार्वजनिक भएपछि यो क्षेत्रमा त्रास बढेको थियो।

यसअघि भेरी प्रादेशिक अस्पताल नेपालगञ्जका एक बिरामीको पनि नेगेटिभ रिर्पोट आएको छ। अहिलेसम्म प्रदेश ५ मा कोराना सङ्क्रमण भएका बिरामी नभेटिएकाले त्रसित हुन नपर्ने चिकित्सकहरूले बताएका छन्। प्रदेश सरकारले १४ वटा अस्पतालको ८९ वटा वेड आइसोलेशनका लागि तयार पारिएको छ।