शब्द पाईन…

मलाई हरेक कुरा लेख्नु थियो । हरेर घटना, हरेक देखाई, हरेक दुखाई, हरेक भोगाई ! समयका गल्ली गल्लीमा विलिन भएका सपनाहरूलाई लेख्नु थियो । अतितको किनारमा मृत आशाहरू लेख्नु थियो । हकिकतमा आ’त्मह’त्या गरेका विश्वासहरू लेख्नु थियो ।

सुरूवात त हुन्थ्यो तर कलम कहिले विगतको द्वन्दकालिन बन्दुकका नलिमा गएर रोकिन्थे कहिले मेरा शब्दहरू वर्तमानको विमानस्थलमा विदाईको आँशुहरूमा मिसिन्थे त कहिले मेरा भावहरू भविष्यका विमानस्थलबाट बाहिरिएको काठको बाकस भित्रको सपनाहरूमा गएर रूमलिन्थे । अनि मेरो लेख आधा अपुरो हुन्थ्यो । मेरा लेखहरू भावका गर्वमै तुहिन्थे ।

म यसै बच्चा देखि नै जिद्धि त्यसैले मलाई लेख्नु नै थियो । कसैले केहि भन्छ भन्ने कुराको अब मतलब लाग्दैनथ्यो । किनकी मेरो र शब्दहरूको गहिरो प्रेम बसिसकेको थियो । अनेक भावहरू आउँथे, सयौँ शब्दहरू पनि तर अहँ पुरा भएनन् ।

सधैँ अधुरै ! चोक छेउछाउ पेटिमा बसेर दृस्टिबिहिनले बजाउने मादल र मुरलीलाई नियाल्थेँ । तर अधुरा शब्दहरू नै भेट्थेँ । कहिँ केहि कमि त थियो सायद मेरै लेखन शैली ?

भनेको त सुनेको थिएँ । लेखकले त लेखमा अन्धकारलाई पनि झलमल्ल बनाईदिन्छन् । तर फेरी सोचेँ  “म लेखक पनि त होईन । केवल सिकारू हो ।” बुढाबाजेले टेकेका लौरी नियाल्न थालेँ । घामको स्पर्श गर्दै बदाम र सुन्ताला फोर्दै आफैमा हराउनेलाई नियाल्न थालेँ । हरेकलाई नियाल्न थालेँ । तर पनि मेरा शब्दहरू अपुरो रहे ।

आँखा चिम्लिएँ । बसको लास्ट सिटमा गिटार भिर्नेको गिटारलाई सम्झिएँ । हलुका भई पँखेटा हाल्दै उडेका दाईको चुरोटको धुवाँ सम्झिएँ । अनि ती बहिनीका मौन आवाजहरू र दबिएका क्रोधहरू सम्झिएँ । गह भरियो तर शब्द भरिएनन् ।

हारेका जिन्दगीहरू आकाशे पुलहरूमा भेट्न थालेँ, जितेका क्रोधहरू फुटपाथमा रोएको पाउन थालेँ, गिरेका आत्म सम्मानहरू कुल्चिएको पाउन थालेँ, च्यातिएका प्रेमका टुक्राहरू भिडमा हराएको पाउन थालेँ । तर शब्द पाईन..

प्रकाशित मिती २०७६ चैत ७ गते