आज गाउँको धेरै याद आयो

  • मुना ओली

भनिन्छ नि आफ्नै गाउँ, आफ्नै शहर र आफ्नै परिवेश ! साच्चिकै कति सम्मको प्यारो छ है । आफ्नै जन्मभूमी, आफुले सबै भन्दा पहिले पाइला टेक्न पाएको ठाँउ, सबैभन्दा पहिले आफुले देख्न पाएको संसार, अनि जीवन सुरुवात भएको ठाँउ सबैलाई प्यारो नै हुन्छ ।

बाल्यकालमा त्यही गाउँको माटोपानी सँग खेल्दै हुर्किएको यो जीवन अहिले कहाँ छ कहाँ तर तन र मन त्यही हुर्किएको गाउँमा छ । आमाबुबा, दाईभाई, दिदीबहिनी, छरछिमेकी, आफन्तजन र साथीसँगीहरु सँग लुकामारी खेल्दै, नयाँ कुरा सिक्दै हुर्किएको आफ्नो गाउँ भुल्नेहरु कमै हुन्छन् । जसले भुल्छ उ अर्कै संसारमा पुगेर विर्सिएको हुन्छ । तर मेरो शरिर जहाँ भएपनि गाउँमै मन डुलिरहेको हुन्छ ।

सल्यानको दार्मा ! हो त्यही हो मेरो गाउँ । नेपालको राष्ट्रिय फुल लालीगुराँसले अहिले गाउँ, पाखापखेरा, भञ्याँङचौतारी, डाँडाकाँडाहरु रातम्मे भएका होलान् । पेसाले म जिल्ला बाहिर भएपनि सधै गाउँकै याद आउछ । गाउँ नगएको पनि धेरै समय भएछ ।

यसपाली गाउँ जान्छु भनेर तयारी गर्दै थिए तर कोरोना भाइरसको त्रासले गर्दा हामी बिरामीहरुको सेवामै खटिनुपर्ने भयो । अरु क्षेत्रका कर्मचारीले बिदा पाउँदा हामी दिनरात बिरामीहरुको उपचारमा खटिनुपर्ने हाम्रो पेसा नै यस्तै हो । तरपनि केहि छैन् ‘सेवा नै धर्म हो’ भन्ने कुरालाई मनन गरेर खुसी हुनु नैै ठुलो कुरा हो ।

बिहान समाचार पढेकी थिए । ‘काठमाडौंबाट घर जानेहरुको लर्को’ भनेर । जसको कारण थियो अहिले विश्वभरी त्रासमा रहेको कोरोना भाइरसले गर्दा । हिजो, अस्ती र त्यसको अघिल्लो दिन गरेर ३ दिनमा ३ लाखले काठमाडौं शहर छोडेर आफ्नो गाउँतिर लागेछन । समाचार अनुसार यो संख्या अझै बढ्दै छ ।

हिजो साँझ काठमाडौं बस्ने मेरो गाउँकी एकजना साथीले फोन गरेर भन्दै थिइ ‘हामी त गाउँ जान लागियौं, तिमी कोरोनाभाइरसबाट बच्नु है ।’ जतिखेर मलाई गाउँको एकदमै याद आयो । आफुले सम्झेर भएपनि चित्त बुझाउनु पर्ने भयो ।

बस केहि छैन् देशमा कोरोनाको क्रास सकिएर सामान्य बनेको दिन गाउँ पुग्नेछु । तर दुख पर्दा सबैले सम्झने भनेकै गाउँघर नै रहेछ । दशैं तिहार जस्तै गरेर अहिले सबैले गाउँघरलाई नै सम्झिरहेका छन् र कोरोनाबाट बच्न कर्मथलोबाट जन्मथलो आफ्नै गाउँतिर हिडिरहेका छन् ।

गाउँ भनेको साँच्चिकै गाउँ नै हो । हामीलाई दुख पर्दा मात्रै होइन् सुख पर्दा पनि सम्झनु पर्छ । मलाई थोरै मेरो गाउँको बयान गर्न मन लाग्यो । मेरो दार्मा गाउँपालिका साच्चिकै एउटा स्वर्गको टुक्रा हो । हुनत सबैलाई आफ्नो गाउँ स्वर्ग नै लाग्छ । तरपनि दार्मा गाउँपालिका एउटा अर्गानीक गाउँपालिका हो ।

यहाँका दार्मा खोला, त्रिवेणी खोला सुसाउँदै फारुला हुँदै बग्ने गर्दछन् । दार्माको शिरमा ठडिएको मालिका लेकले सबैलाइ हेरिरहेको हुन्छ । यहाँको अर्गानीक कृषिले धेरैको जीवनस्थर उकासेको छ । र सबैजना यसैमा रहमाइरहेका छन् ।

स्थानीय सरकार बनेसँगै अहिले गाउँघरमा बिजुली, खानेपानी, सडक जस्ता विकासका योजनाहरु पुगेका छन् । अझै यस्ता कामहरु गर्न बाँकी नै छन् । बेरोजगारको समस्या प्रमुख छ । धेरै दाजुभाईहरु बिदेशीनु भएको छ । उहाँले पठाएको रेमिट्यान्सले गर्दा धेरैको दैनिकी चलेको छ । अब यी सबै कुराहरुलाई हल गर्ने हो भने हाम्रो साच्चिकै सुन्दर सपनाको गाउँ बन्छ ।

लेखक सल्यान दार्मा गाउँपालिका ६ निवासी हुन्, हाल उनि नवलपरासी स्थित पृथ्वी चन्द्र अस्पतालमा कार्यरत छिन् ।

प्रकाशित मिती २०७६ चैत्र ८ गते