भारतले ल्यायो स्वास्थ्यकर्मीलाई आक्रमण गरे सात वर्ष जेल हाल्ने अध्यादेश

बैशाख १०, दिल्ली । भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ। बुधबार सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन्।

‘महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ। राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आउँछ,’ उनले भने। अध्यादेश कार्यान्वयन भएसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण गरे दुईदेखि पाँच लाख भारूसम्म जरिवाना तिराइने र सात वर्षसम्म जेल सजाय हुन सक्ने जावाडेकरले बताए।

‘यसको अनुसन्धान ३० दिनमा सकिन्छ। यसमा दुई लाख जरिवाना तिराइनेछ,’ उनले भने,’गम्भीर घटना भए सात वर्षसम्म जेल र पाँच लाख जरिवाना तिराइनेछ।’ पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको थियो। यस्ता घटना बाहिरिन थालेपछि सरकारले अध्यादेश ल्याएको हो।

गृहमन्त्री अमित शाह र इण्डिया मेडिकल एसोसियसनबीच  बैठक बसेपछि अध्यादेश ल्याइएको हो। सरकारले सुरक्षाका लागि केही कानुन नल्याए स्वास्थ्यकर्मीले अप्रिल २३ तारिख कालो दिनका रूपमा मनाउने चेतावनी दिएका थिए।

भारतम बुधबारसम्म २० हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६४५ जनाको मृत्यु भएको छ।

फाइल फाेटाे