नेपालमा कति जनाले गरे ‘कोरोना बिमा’ ?

जेठ ८, काठमाडौं । कोराेना भाइरसलाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।

निर्जीवन बिमा कम्पनीहरूका सीईओहरूको संगठन निर्जीवन बिमक संघका अध्यक्ष दीप पाण्डले दिएको जानकारीअनुसार १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको छ।

सामान्यतया: युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।

यसैबीच  ईन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस नेटवर्क प्रा.लिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । चितवनमा रहेको टेकमाइन्डस नेटवर्क प्रा.लिले आफ्नो २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

कम्पनीमा कार्यरत ती कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनी नारायणगढबाट कोरोनाको जोखिम बहन गर्नेगरी (कोभिड १९) बीमा गरेको हो । यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा खटिरहेको टेकमाइन्डस नेटवर्क प्रा.लिले जनाएको छ।