२०८३ भाद्र २९ गते सोमवार | 2026 September 14th Monday

भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भुइँचालो गएका छन्। पहिलो भुइँचालो ७.२ र दोस्रो ७.५ म्याग्निच्युडको थियो।

भुइँचालोका कारण थुप्रै भवन भत्किएका छन्। त्रसित स्थानीयवासीहरू सडकमा निस्किएका छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई घरबाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार प्रभावित संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत छ।

स्थानीय समय अनुसार साँझ ६:०४ बजे भुइँचालो गएको हो। उक्त समयमा भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेको अनुमान गरिएको छ।

भुइँचालोको केन्द्रबिन्दु काराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्र रहेको जनाइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।

काराकाससहित भेनेजुएलाका अन्य विभिन्न राज्यहरूमा पनि भूकम्पको कम्पन महसुस भएको बताइएको छ। उद्धार तथा राहत कार्य जारी छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस