२०८३ मङ्सिर ७ गते आइतवार | 2026 November 22nd Sunday

‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम खैराबाङ्ग मन्दिरमा सम्पन्न

सल्यान।

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘क्लिक सल्यान’ (फोटो वाक) कार्यक्रम
सम्पन्न गरेको छ । आइतबार जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल खैराबाङ्ग मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीले जिल्लाको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । सल्यानका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्दा पर्यटक आकर्षित गर्न र जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले यस्ता सिर्जनात्मक अभियानले जिल्लाको पर्यटन विकासमा सकारात्मक टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै राष्ट्रिय फोटो पत्रकार समूहको प्रयासको प्रशंसा गर्नुभयो ।

त्यस्तै, समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीले सल्यान जिल्लाका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीयस्थलको तस्बिरमार्फत प्रचारप्रसार गरी जिल्लाको पर्यटन सम्भावना उजागर गर्ने उद्देश्यले ‘क्लिक सल्यान’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । फोटो पत्रकारितामार्फत जिल्लाका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई चिनाउने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने समूहको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमका अवसरमा समूहका पदाधिकारी तथा सदस्यहरूलाई संस्थागत पहिचानका लागि टिसर्ट तथा परिचयपत्र (आईडी कार्ड) समेत वितरण गरिएको थियो ।
जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले समूहले ‘क्लिक सल्यान’ कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका पदाधिकारी सदस्य लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण सहसचिव कमल धितालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस